logo
२०८१ बैशाख १४ शुक्रवार



प्याज सस्तियो, लसुन ठप्प

मुख्य समाचार |


प्याज सस्तियो, लसुन ठप्प


गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन २ गते । केही दिनदेखि प्याजको भाउ घटेको छ भने लसुनको भाउ उच्च हुँदा कारोबार नै ठप्प भएको छ । भारतीय बजारबाट प्याज आउन थालेसँगै उपत्यकाका बजारमा प्याजको भाउ घटेको हो । गत असोजदेखि महँगिएर मङ्सिरमा थोकमै १८० रुपियाँ पुगेको प्याजको मूल्य अहिले घटेर ७३ रुपियाँमा थोकमा कारोबार भइरहेको छ । त्यस अवधिमा प्याजको खुद्रा मूल्य प्रतिकेजी २५० रुपियाँसम्म पुगेको थियो । भारतले नेपालमा प्याज निर्यात गर्न प्रतिबन्ध लगाएसँगै महँगो भएको प्याज अहिले भारतमा उत्पादन बढेर विगतभन्दा सहज रूपमा आउन थालेपछि मूल्य सस्तिएको व्यापारी बताउँछन् ।
कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार बजारमा अहिले औसतमा दैनिक ६०÷६५ टन प्याज भित्रिएको छ । उपत्यकाको बजारमा दैनिक १२० टन प्याज माग छ । सो समितिका उपनिर्देशक विनय श्रेष्ठले बजारमा प्याजको आयात बढेसँगै क्रमशः भाउ सस्तो भएको जानकारी दिनुभयो । उहाँले बजारमा नयाँ प्याज आउन थालेसँगै मूल्यमा कमी र क्रमशः अझै घट्ने बताउनुभयो । उपत्यकाको बजारमा खपत हुने प्याजको परिमाणमध्ये झन्डै ९८ प्रतिशत भारतका नासिक, कानपुर, इन्दौर, लखनउ र सिमलालगायत स्थानबाट आयात हुन्छ । भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५÷७६ मा पाँच अर्ब ६२ करोड २५ लाख रुपियाँ बराबरको प्याज आयात भएको थियो ।
काठमाडौँ उपत्यकामा मात्रै दैनिक २७० टन खपत हुन्छ तर भारतबाट आउने प्याजको आयातमा प्रतिबन्ध लगाएसँगै नेपाली बजारमा प्याजको मूल्य अत्यधिक बढेको थियो । भारतबाट आयात गर्ने गरिएको छ, भारतको प्रतिबन्धका कारण छिमेकी राष्ट्र चीनबाट प्याजको आयात हुन थालेको थियो

लसुनको कारोबार ठप्प
चीनबाट हुने लसुनको आयात बन्द भएपछि नेपाली बजारमा लसुनको कारोबार ठप्प भएको छ । काठमाडौँ उपत्यकाको लसुनको माग चिनियाँले धान्दै आएकोमा नोबेल कोरोना भाइसर फैलिने डरले दुई देशका व्यापारिक नाका बन्द गरिएसँगै कालीमाटी तरकारी बजारमा यसको कारोबार ठप्प भएको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार माघ २२ गतेदेखि लसुनको कारोबार ठप्प भएको छ । तरकारी बजारका उपनिर्देशक विनय श्रेष्ठ व्यापारीहरूले लसुन नै भित्रिन छोडेको र कारोबार नभएपछि तरकारीको नियमित कारोबार सूचीबाट समेत हटाइएको जानकारी दिनुभयो ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?