logo
२०८१ बैशाख ८ शनिवार



ऊर्जा खपतको विस्तार सुस्त

मुख्य समाचार |


ऊर्जा खपतको विस्तार सुस्त


गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन २ गते । चालू आर्थिक वर्ष २०७६/७७ भित्र प्रतिव्यक्ति ऊर्जा खपत वार्षिक १८१ किलोवाट प्रतिघण्टा (युनिट) बढाउने लक्ष्य लिएकोमा पहिलो छ महिनामा २२ युनिट बढेको पाइएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा अहिले प्रतिव्यक्ति ऊर्जा खपत २६७ युनिट पुगेको छ । गत असार मसान्तसम्म यस्तो आँकडा २४५ युनिट थियो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वार्षिक कार्ययोजनाअनुसार पहिलो चौमासिकमा २५ युनिट र दोस्रो चौमासिकमा १८ युनिट थप गर्ने लक्ष्य छ । यस आधारमा लक्ष्यअनुसार छ महिनामा करिब ३४ युनिट बढ्नुपर्ने थियो । कार्ययोजनामा अन्तिम चौमासमा एकैपटक १३८ युटिन विस्तार गर्ने लक्ष्य राखिएको छ । अबको साढे चार वर्षभित्र प्रतिव्यक्ति वार्षिक ऊर्जा खपत सात सय युनिट पु¥याउने योजना सरकारको छ ।
विद्युत् उत्पादन बढ्दै जाँदा विद्युत् खपत विस्तार पनि तीव्र पार्दै जाने नीति रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । यसका लागि प्राधिकरणले विद्युत् खपत बढाउन घरघरमा विद्युतीय चुलो (इन्डक्सन)को प्रयोगलाई प्रोत्साहन गर्ने र विद्युतीय गाडी चलाउन चार्जिङ स्टेसन खोल्ने कार्यक्रम अगाडि बढाएको जनाएको छ । उपभोक्ताले धेरै विद्युत् खपत गर्न लाग्दा वितरण प्रणाली अवरुद्ध हुनुले खपत विस्तारमा केही चुनौती थपिएको छ । पछिल्ला केही महिना विद्युत्को उच्च माग हुँदा स्थानीय स्तरका वितरण प्रणालीले लोड नथेग्ने र विद्युत् आपूर्ति अनियमित हुने समस्या आएको थियो ।प्राधिकरणले यसका लागि संरचनाको सुदृढीकरण, स्तरोन्नति र विस्तार गरिरहेको जनाएको छ । यद्यपि जाडो उच्च हुँदा लोड सेन्टर काठमाडौँलगायत देशभर विद्युत्को माग उच्च रहेका बखत वितरण प्रणालीको समस्या पनि चर्किएको थियो ।
दुई वर्षभित्र मुलुकभरका ७५३ स्थानीय तहमध्ये २२२ मा ९० प्रतिशभन्दा बढी विद्युत् पुगेको छ । प्राधिकरणले गत भदौमा मुलुकभरका स्थानीय तहका गाउँपालिका र नगरपालिकाहरूको वडासम्मको विस्तृत अध्ययन गरी सार्वजनिक गरेको विद्युतीकरण तथ्याङकअनुसार ११७ स्थानीय तहमा विद्युतीकरण पाँच प्रतिशतभन्दा कम छ । केही स्थानीय तहमा विद्युत् पुगेकै छैन । ५५ स्थानीय तहमा पाँचदेखि ३५ प्रतिशतसम्म विद्युतीकरण भएको छ । १०६ स्थानीय तहमा ३५ देखि ६५ प्रतिशत र २५३ मा ६५ देखि ९० प्रतिशतसम्म विद्युतीकरण भएको छ ।
अर्थ मन्त्रालयका अनुसार चालू आवको छ महिनामा वितरण लाइन विस्तार, स्तरोन्नति तथा सुदृढीकरण गरेर ४६ लाख ८१ हजार घरधुरीमा विद्युत् पुगेको छ । गत आवसम्ममा ४५ लाख घरधुरीमा विद्युत् पुगेको थियो । सरकारले चालू आवमा ४० जिल्लामा पूर्ण रूपमा विद्युतीकरण गर्ने कार्यक्रम राखेकामा अहिलेसम्म पर्वत, स्याङ्जा, काठमाडौँ र भक्तपुरमा पूर्ण रूपमा विद्युतीकरण भएको छ । पूर्ण विद्युतीकरणको कार्यक्रम प्राधिकरणमार्फत कार्यान्वयन गर्न ग्रामीण विद्युतीकरणका लागि पाँच अर्ब रुपियाँ थप स्रोतको व्यवस्थापन गर्नुपर्ने अर्थ मन्त्रालयले जनाएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?