logo
२०८० चैत्र १६ शुक्रवार



‘मेगाफोन कूटनीति’ अन्त्य गर्न चीनको क्यानडालाई आग्रह

अन्तर्राष्ट्रिय |


‘मेगाफोन कूटनीति’ अन्त्य गर्न चीनको क्यानडालाई आग्रह


मोन्ट्रियल, असार १४ गते ।
जासुसी गरेको आरोपमा दुई क्यानडेली नागरिकलाई पक्राउ गरिएको विषयमा क्यानाडाद्वारा व्यक्त गरिएको भनाइ ‘गैर–जिम्मेवारपूर्ण’ रहेको दाबी गर्दै क्यानाडालाई ‘मेगाफोन कूटनीति’ अन्त्य गर्न चीनले आग्रह गरेको छ ।

“दुई क्यानडेलीहरू, चीनका लागि पूर्व कूटनीतिज्ञ मिखायल कोभरिग र उत्तर कोरियाली परामर्शदाता मिखायल स्पाभोर, बारेका तथ्यहरू उहाँहरूमाथिको आरोप पुष्टि गर्न ‘ठोस तथा पर्याप्त’ आधार रहेको छ,” ओटावास्थित चिनियाँ राजदूतावासको वेबसाइटमा प्रकाशित विज्ञप्तिमा भनिएको छ ।

अमेरिकी न्यायाधिकारीहरूको अनुरोधमा चिनियाँ प्रसिद्ध दूरसञ्चार कम्पनी ह्वावेइका वित्तीय निर्देशक मेङ वाङझोउलाई क्यानाडामा पक्राउ गरेको केही दिनपछि बेइजिङले क्यानडेली यी कूटनीतिज्ञलाई चीनको गोपनीयता भङ्ग गर्दै चीनविरूद्ध जासुसी गरेको आरोपमा सन् २०१८ को डिसेम्बरमा पक्राउ गरेको थियो ।

चीनले क्यानडेली कूटनीतिज्ञहरूलाई गरेको पक्राउलाई पश्चिमी मुलुकहरूले ह्वावेइका अधिकारी मेङको पक्राउको बदला भनेका छन् । चीनले उक्त आरोपको खण्डन गर्दै आएको छ ।
क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्ना दुई नागरिकको पक्राउलाई चीनको मनोमानीपूर्ण कदम भनी पटक पटक चीनको आलोचना गर्नुभएको छ । “क्यानडेली नागरिकलाई कथित मनोमानीपूर्ण पक्राउ गरिएको भन्ने आरोप पूर्णतया आधारहीन रहेको छ,” चीनको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “चिनियाँ न्यायिक अङ्गले क्यानडेली कूटनीतिज्ञहरूको मुद्दालाई आफ्नो कानून बमोजिम कडाईका साथ अघि बढाउने छ साथै ती दुई क्यानडेलीको कानूनी अधिकारको पनि संरक्षण गर्नेछ ।”

अर्कोतर्फ मेङको पक्राउ आफैमा ‘मनोमानीपूर्ण’ रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । मेङको पक्राउलाई चीनले चिनियाँ उच्च प्राविधिक संस्था ह्वावेइलाई अघि बढ्नबाट रोक्न अमेरिकाले लिएको दवावपूर्ण घटना रहेको र क्यानाडा यसको सहयोगी बनेको चीनको दाबी रहेको छ ।

चीनले भनेको छ, “मिखायल कोभरिग र मिखायल स्पाभोरको मुद्दालाई लिएर गैर–जिम्मेवार अभिव्यक्ति दिन रोक्न तथा ‘मोघाफोन कूटनीति’को माध्यमद्वारा चीनमाथि दवाव सिर्जना नगर्न आग्रह गरिन्छ ।” साथै क्यानाडाले मेङ वानझोउको पक्राउ गरी क्यानडाले गल्तीगरेको महसुस गर्नुपर्ने, राजनीतिक चालबाजी रोक्नुपर्ने र मेङलाई तत्काल रिहाई गरी सुरक्षित स्वदेश फिर्ता हुने वातावरणको प्रत्याभूत गर्नुपर्ने माग चीनले दोहोराएको छ ।

कोभिरिगकी पत्नीसहित २० क्यानडेली अधिकारीले हालै भेटगरी प्रधानमन्त्री ट्रुडोलाई ह्वावेइकी व्यवस्थापक मेङलाई सुपर्दगी गर्ने कामलाई हस्तक्षेप गरी रोक्न र चीनमा पक्राउ परेका क्यानडेली दुई कूटनीतिज्ञको रिहाईका लागि पहल गर्न आग्रह गरेका थिए ।

तर क्यानडेली प्रधानमन्त्री ट्रुडोले आफ्नो मुलुकको न्याय प्रणाली स्वतन्त्र रहेको भन्दै विहीबारको भेटमा यस आग्रहलाई अस्वीकार गर्नुभएको थियो । उहाँले यस्ता निर्णयले चीन र अन्य मुलुकमा रहेका क्यानडेली नागरिकलाई खतरामा पार्ने धारणा राख्नुभएको बताइएको छ ।
भ्यानकुभरमा भएको सुनुवाईमा वासिङ्टनले मेङलाई इरानविरूद्ध अमेरिकी प्रतिबन्धहरू रोक्ने कार्य गरेको आरोप लगाइएको समाचारहरू आएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?