logo
२०८० चैत्र १५ बिहीवार



अमेरिकामा कोभिड–१९ को उपचारमा औलोको औषधिमाथि प्रतिबन्ध

अन्तर्राष्ट्रिय |


अमेरिकामा कोभिड–१९ को उपचारमा औलोको औषधिमाथि प्रतिबन्ध


वासिङ्टन
असार २ गते। अमेरिकी नियामक निकायहरुले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को उपचारमा औलोको औषधिको प्रयोगमाथि प्रतिबन्ध लगाएका छन् ।

बिना वैज्ञानिक तथ्य र प्रमाणकै आधारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड–१९ को उपचारका लागि औलोको उपचारमा प्रयोग हुने हाइड्रोक्सिक्लोरोक्वीन औषधि प्रयोग गर्न सुझाव दिँदै आउनु भएको थियो । राष्ट्रपतिको उक्त विवादित सल्लाहलाई चिकित्सा विज्ञानका क्षेत्रमा क्रियाशिल वैज्ञानिक समुदायले हास्यास्पद भन्दै यो औषधि प्रयोगमा सावधानी अपनाउन आग्रह गरिरहेका थिए ।

स्वयं अमेरिकी वैज्ञानिकहरु पनि राष्ट्रपति ट्रम्पको सल्लाहमाथि विश्वस्त हुन सकेका थिएनन् ।

अमेरिकाको शक्तिशाली नियामक निकाय अमेरिकी फूड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले कोरोनाभाइरसको उपचारमा हाइड्रोक्सिक्लोरोक्वीन र क्लोरोक्वीन प्रभावकारी नदेखिएको जनाएको छ । यी औषधिको सेवन गर्दा मानिसको मुटुमा समस्या देखिएको प्रतिवेदन प्राप्त भएको भन्दै एफडीएले कोरोना संक्रमित व्यक्तिलाई यी औषधिले केही राहत दिएपनि स्वास्थ्य जोखिम लिन नसकिने स्पष्ट गरेको छ ।

एफडीएले कोरोनाको उपचारमा प्रयोग भइरहेको अर्को औषधि रेमडेसिभरसँग हाइड्रोक्सिक्लोरोक्वीन वा क्लोरोक्वीन मिसाएर बिरामीलाई नदिन पनि चिकित्सकहरुलाई चेतावनी दिएको छ । एफडीएले औलोको औषधिले रेमडेसिभरको प्रभावकारीतामा पनि कमी ल्याउने बताएको छ ।

हाइड्रोक्सिक्लोरोक्वीन र क्लोरोक्वीन औषधि सामान्यतया आर्थराइटिसका बिरामीको उपचारमा प्रयोग हुने गर्दछ । तर यी औषधिका केही खतरनाक नकारात्मक असरहरु पनि हुने गर्दछ । यस औषधिको सेवनबाट मुटुमा समस्या देखिनुका साथै रक्तचात निकै घट्ने तथा मांसपेशी वा स्नायू प्रणालीमा क्षति पुग्दछ ।

एफडीएले यी औषधिका ३९० जना प्रयोगकर्ताहरुबाट स्वास्थ्य जटिलता उत्पन्न भएको गुनासो प्राप्त भएको जनाएको छ । यीमध्ये पनि १०० जनाभन्दा बढीमा मुटुको गम्भीर समस्या उत्पन्न भएको थियो ।

कोरोनाभाइरसको उपचारमा प्रयोग गर्नेगरी अमेरिकी संघीय निकायहरुमा रहेको ठूलो परिमाणको औलोको औषधि अब राज्य र स्थानीय तहमा वितरण गरिने छैन ।

क्लिभल्यान्ड क्लिनिकका अनुसन्धाता डा स्टिभन निस्सेनले एफडीएको पछिल्लो निर्णय स्वागतयोग्य रहेको प्रतिक्रिया दिनुभयो । उहाँले हाइड्रोक्सिक्लोरोक्वीनको औषधिको प्रामाणिकतामा कुनै विश्वासिलो आधार पहिल्यैदेखि नदेखिएको र यसले शरीरमा नकारात्मक असर पार्ने भएकाले यो औषधिको जथाभावी सेवन गर्न नहुनेमा जोड दिनुभयो ।

बिहीबार अमेरिकी राष्ट्रिय स्वास्थ्य इन्स्टिच्यूट (एनआइएच) को एक विज्ञ समूहले पनि अध्ययन प्रयोजन बाहेक आमरुपमा यो औषधि सेवनमा प्रतिबन्ध लगाउन सिफारिस गरेको थियो ।
एफडीए र एनआइएच दुबैले कोरोनाभाइरसको उपचारमा यी औषधिको प्रयोग नगर्न स्पष्ट सन्देश दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोनाभाइरस फैलिन शुरु भएलगत्तै हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोग गर्न सकिने भन्दै व्यापक वकालत गर्नु भएको थियो । राष्ट्रपति ट्रम्पको लगातारको प्रयासपछि धेरै अमेरिकी र विश्वका कतिपय मुलुकका नागरिकले औलोको औषधि खोजीखोजी सेवन गर्न थालेका थिए जसका कारण बजारमा यी औषधिको अभाव समेत हुन थालेको थियो ।

केही अनुसन्धानले कोभिड–१९ को उपचारमा औलोका औषधिहरु केही मात्रामा उपयोगी हुन सक्ने देखाएका थिए, तर ती त्यति विश्वासयोग्य थिएनन् । पछिल्लो समय ठूलो जनसमूहमा गरिएका अध्ययनहरुले औलोको औषधिले फाइदा भन्दा पनि बढी मानव स्वास्थ्यमा हानि गर्ने ठहर गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप