नमुना नगरपालिका बनाउने अभियानमा छौँ

दिपायल–सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासी सुदुरपश्चिम प्रदेशमा एक जना मात्र महिला नगरप्रमुख हुनुहुन्छ । तत्कालीन नेकपा एमालेको तर्फबाट निर्वाचित मेयर मलासी दिपायल सिलगढी नगरपालिकामा जनपक्षीय र लोकप्रिय काम गरेर चर्चित हुनुहुन्छ । २०४६ सालको जनआन्दोलनबाट राजनीतिमा सक्रिय हुनुभएको हो । नगरप्रमुख मलासीको १४ महिने कार्यकाल र भावीयोजनालगायतका विषयमा गोरखापत्र दैनिकका लागि डोटीस्थित समाचारदाता डिलबहादुर सिंहले गर्नुभएको कुराकानीको सारसंक्षेप । Manju -3

तत्कालीन अवस्थामा नेपाली काँग्रेस र तत्कालीनको नेकपा माओवादीको गठबन्धनलाई परास्त गरेर निर्वाचित हुनुभएको हो तर पछिल्लो समयमा अवस्था फेरिएको छ । माओवादी र एमाले एकीकृत पार्टी भएको बेला हिजो र आजको समयलाई कसरी मूल्याङ्कन गर्नुभएको छ ?
स्थानीय निर्वाचनको समयमा जुन गठबन्धन थियो, त्योभन्दा अहिले राजनीतिक अवस्थामा फेरबदल आएको छ । यसले नेपालका दुईटा ठूला पार्टी एक भएको सकारात्मक सन्देश दिएको छ । शुरूवाती दिनमा एमाले मात्रै एक्लै थियो भने अहिले दुई ठूला पार्टी मिलेका छाँै । विपक्षीले गर्ने सुनियोजित प्रहारको प्रतिकार गर्न पनि अहिले सजिलो भएको छ । समुदाय तथा वडा तहदेखि नै काम गर्न सहज वातावरण निर्माण गर्नका लागि तत्कालीन नेकपा (एमाले) र तत्कालीन एकीकृत नेकपा (माओवाद) का जिम्मेवार नेताहरू सक्रिय भइरहनुभएको छ । डोटी जिल्लामा खास पार्टी भनेको नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी तीनवटा थियो । अहिले हामी दुई ठूला कम्युनिस्ट एक भएपछि काममा सहज भएको छ । अब हांँगाभन्दा पनि जरा बलियो भएको छ । काम गर्ने वातावरण सहजता आएको छ । यद्यपि, तत्कालीन समयमा चुनावमा उम्मेदवार एमालेको तर्फबाट भए पनि म अब सबै पार्टीको र सबै जनताको नगरप्रमुख हुँ । राजनीतिक भेदभाव नभनेर मैले सबै जनताको काम गरिरहेकी छु ।

यहाँ सुदूरपश्चिम प्रदेशको एक मात्र निर्वाचित महिला नगरप्रमुख हुनुहुन्छ, काम गर्ने दौरानमा के कस्ता चुनौती देखिरहनुभएको छ ?
महिलालाई चुनौती त घरदेखि बाहिरका सबै ठाउँमा छन् । अझै भन्नुपर्दा सुदूरपश्चिम सबै किसिमले पछाडि पारिएको क्षेत्र पनि हो । पुरुषको तुलनामा महिलालाई काम गर्न चुनौती भए पनि मैले राजनीतिक यात्रा शुरू गरेदेखि नै चुनौतीलाई अवसरका रूपमा उपयोग गर्ने गरेकी छु । रात दिन नभनी नागरिकको सेवामा लाग्नुपरेको छ । नगरभित्र थुप्रै समस्या छन्, ती समस्यालाई सम्बोधन गर्न पनि रातदिन भन्नुपरेको छैन । कर्मचारीतन्त्रदेखि सबै क्षेत्रमा पुरुषवादी सोच हाबी छ । प्रत्येक वडामा अनलाइनमार्फत कर लिने व्यवस्था गरिएको छ तर अनलाइनमा काम गर्न सक्ने कर्मचारी छैनन् । प्राविधिकहरू प्रत्येक वडामा हुनुपर्ने हो, त्यो व्यवस्था गर्न सकिएको छैन । मैले आफूलाई महिला मात्र भनेर बस्नुपरेको छैन । आँटेका सबै काम सफल हुन्छ भन्ने पनि छैन । चुनौती आयो भन्दैमा डराउनुपर्ने छैन । चुनौतीका कारण पत्ता लगाई अगाडि बढ्ने गरेकी छु । नगरवासीले मलाई साथ दिएमा म नगरवासीको सेवाका लागि रातदिन नभनेर काम गर्न तयार रहेको छु ।

देशमा सङ्घीयता कार्यान्वयन भइरहेको बेला अझै स्थानीय तह र प्रदेशबीच अधिकार बाँडफाँटको विषय टुङ्गिसकेको छैन । यसले काम गर्न कस्तो प्रभाव पारिरहेको छ ?
यहाँले भनेको कुरालाई हामीलाई पनि जटिल समस्याका रूपमा लागि रहेको छ । हामीले सिंहदरबारको अधिकार गाउँसम्म आयो त भन्यौँ तर जुन अधिकार स्थानीय तहले पाउनुपर्ने भनेर स्पष्ट संविधानमा लेखिएको छ, त्यो अझै व्यवहारमा हामीले पाउन सकेका छैनौँ । सङ्घीयता भनेको नै जनताले अधिकार पाउने कुरासँंग सम्बन्धित विषय हो । स्थानीय तह बलियो भएन भने केन्द्र मात्रै बलियो भएर देश विकास हुन सक्दैन । स्थानीय सरकार बलियो हुनुप¥यो । स्थानीय सरकार भनेको जग हो । जग बलियो भएन भने घर कसरी बलियोहुन्छ ? सङ्घीयता एकदम राम्रो राजनीतिक व्यवस्था हो । हिजोका दिनमा सिंहदरबार धाउनुपर्ने अवस्था कम भइसकेको छ । कार्यालय समायोजन अझै हुन सकेका छैनन् । कर्मचारी समायोजन भइरहेको छैन । प्रदेशबाट पनि बजेट विनियोजन गरिएको छ । त्यो आउने बजेट कता जाने हो, अनुगमन कसले गर्ने हो ? अझै टुङ्गो लागेको छैन । स्थानीय तहको छुट्टै बजेट, प्रदेशको छुट्टै बजेट भएर हँुदैन । सङ्घीयताको अवधारणाअनुसार काम हुनुप¥यो ।

सुदूरपश्चिमका महिलाको अवस्था अझै पछाडि नै परेको छ, अब समाज रूपान्तरणका लागि यहाँको जिम्मेवारीमा पनि आएको छ । यहाँको समाज रूपान्तरणका लागि स्थानीय तह, प्रदेश र केन्द्रीय सरकारले के कस्ता कार्यक्रम कार्यान्वयन गर्नुपर्ला जस्तो लाग्छ ?
केन्द्र सरकार र प्रदेश सरकारले महिलाका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने हो तर त्यतातर्फ कसैको ध्यान जान सकेको छैन । हाम्रो समाजमा पुरुषवादी सोच अझै हाबी नै छ । धेरैजसो महिला आर्थिक उपार्जनको कार्यमा सरिक छैनन् । उनीहरूको क्षमता विकासका कार्यक्रम जनताको तहमा जानुपर्ने हो । मैले नेतृत्व गरेको नगरपालिकाको कुरा गर्नुहुन्छ भने महिलालाई थुप्रै किसिमका सीपमूलक र क्षमता विकासका काम अगाडि बढिरहेका छन् । हालै मात्र होजियारी तालिममार्फत महिलालाई उद्यमी बनाउने योजनामा छु । तालिमलाई तालिमका रूपमा मात्र नलिएर उद्यमशिलता विकासका लागि काम गरिरहेका छौँ । महिलालाई प्राविधिक शिक्षातर्फ आकर्षित गर्नुपर्छ । आत्मनिर्भर हुने किसिमका नीति बनाउनुपर्छ । खेतीयोग्य जमिनमा आवास निर्माण गर्नुभन्दा पनि खेतीपाती गर्नका लागि प्रोत्साहन गर्नुप¥यो । महिला जबसम्म आर्थिक रूपमा सक्षम हुँदैनन् तबसम्म समाजमा अगाडि आउन सक्दैनन् । उनीहरूको हक अधिकार र आर्थिक सक्षमता हुने किसिमका कार्यक्रम सञ्चालनमा ल्याउनुपर्छ । यस क्षेत्रमा विद्यमान रुढीवादी परम्पराका कारण पनि महिला हिंसामा छन् । ती परम्परागत रुढीवादी परम्पराविरुद्ध कडा रूपमा प्रस्तुत हुनुपर्छ । हाम्रा कार्यक्रम अब त्यतातिर निर्देशित भएर जाँदैछन् ।

यहाँ स्वयं चुनाव लड्डा र यहाँको पार्टी चुनाव लड्दा सुदूरपश्चिमको राजधानी डोटी बनाउने नारा लिएर चुनाव जित्नुभयो तर यहाँको पार्टीको दुईतिहाइ बहुमत हुँदा पनि डोटीलाई राजधानी बनाइएन नि ?
यहाँले गर्नुभएको कुरा ठीकै हो । राजधानी एउटै पार्टी वा डोटीबाट निर्वाचित भएका सांसदले चाहेर मात्रै हुने कुरा होइन । दिपायल सिलगढी आफैँमा इतिहास बोकेको क्षेत्र हो भन्ने कुरा हिजो अस्थायी राजधानी तोक्ने क्रममा एकल निर्णय गर्दा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई राम्रोसँंग थाहा थियो । सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम, ऐतिहासिक ठाउँ भएकाले सबै भौतिक संरचना यहाँ थियो । यहाँंको भौगोलिक अवस्था वस्तुस्थिति सबै कुरा थाहा हुँदाहुँदै राजनीतिक दाउपेचका लागि तत्कालीन देउवा सरकारद्वारा धनगढी अस्थायी राजधानी तोकियो । हामीले यहाँको ऐतिहासिक पृष्ठभूमि, भूगोल हेरेर चुनावमा राजधानीको विषय अगाडि ल्याएका हौँ । हामी त अझै पनि भन्छौँ राजधानी हुनुपर्ने डोटीमा नै हो । अहिलेको सरकारले धेरै गर्न सक्ने अवस्था रहेन । अहिले पनि डोटीबाट निर्वाचित काँग्रेसका सांसदले राजधानी डोटी नै हुनुपर्छ भनेर भनेका छैनन् तर पनि राजधानी नभए पनि डोटीलाई विकास निर्माणका हिसाबले उत्कृष्ट बनाउनुपर्छ भन्ने हाम्रो मान्यता हो ।

सुदूरपश्चिमको ऐतिहासिक क्षेत्र डोटी गौडाको नगरपालिकाको मेयर हुनुहुन्छ । यो नगरपालिकालाई के कस्तो बनाउने योजना रहेको छ ?
डोटी आफैँ छुट्टै पहिचान बोकेको क्षेत्र हो । बाइसे चौबीसे राजाहरूको समयमा शक्तिशाली राज्य, राणाकालीन समयमा गौणा, सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम हो । यी सबै कुरा हँुदाहँुदै पनि यस क्षेत्रमा थुप्रै समस्या पनि छन् । महिला अझै पनि चुलोचौका भन्दा बाहिर आउन सकेका छैनन् । महिला सुत्केरी हुन नसकेर मर्नेदेखि घाँस दाउरा गर्दा भीरबाट लडेर मर्ने गरेका छन् । यी सबै समस्या समाधानका लागि अब विकास कागजमा होइन, व्यवहार र यथार्थ देखिने गरी हुनुपर्छ भन्ने मेरो एउटा अठोट रहेको छ । दिपायल सिलगढी नगरपालिकाको २५ वर्षे गुरुयोजना निर्माण अन्तिम चरणमा छ । अब हुने हरेक क्रियाकलाप गुरुयोजनालाई टेकेर हुन्छन् । यो ठाउँको विकाससँग ऐतिहासिक रूपमा महिलाको पाटो पनि जोडिएको छ । महिलालाई टिकट दिएपछि बिग्रिँदैन, महिलालाई जनप्रतिनिधि बनाउँदा पुरुष भएको ठाउँभन्दा विकास राम्रो हुँदो रहेछ भन्ने कुरा प्रमाणित गरेर देखाउनु छ । डोटेली राजाको ऐतिहासिक दरबार जीर्णोद्वार गर्दै सङ्ग्रहालय बनाउने तयारीमा छौँ । दूधेश्वरीको बाटो र कोटभैरवबीचमा लिङ्क पुल निर्माण भइरहेको छ । शैलेश्वरी मन्दिरमा ४० फिट अग्लो मूर्ति निर्माण भइरहेको छ । बासुधारामा बासुकी नागको मूर्तिहरू बनाउने क्रममा छौँ । चुन ढुङ्गाको खानी उत्खनन गरी उद्यम सञ्चालनका लागि प्रदेश सरकारसँंग पनि बसेर विस्तृत अध्ययन भइरहेको छ । सेती नदीमा ¥याफ्टिङ र मोटरबोट सञ्चालन गर्ने गरी अध्ययन भइरहेको छ । नगरपालिकाका कतिपय वडा अत्यन्तै विकट छन्, त्यस्ता वडामा आयोडिन खानुपर्छ भन्ने अभियान, छाउपडी प्रथा र लैङ्गिक हिंसाविरुद्धको अभियान हामीले सञ्चालन गरिरहेका छौँ । नगरपालिका क्षेत्रलाई बालश्रम मुक्त बनाउने अभियानमा हामी लागि रहेका छौँ, समग्रमा भन्नु पर्दा पाँंच वर्षको अवधिमा दिपायल सिलगढी नगरपालिका नमुना नगरपालिका बनाउँछौँ ।

नगरपालिकाको चालु आर्थिक वर्षको बजेट विनियोजन भइसकेको छ, कार्यान्वयनमा कस्तो चुनौती देखिरहनुभएको छ ?
चुनौती त धेरै छन् । चुनौतीलाई चिर्दै विकास गर्ने हो । जनस्तरबाट साना÷साना योजना लिएर आउने र योजनाका लागि माथिल्लो तहबाट भनसुन गर्ने अनि आवश्यकता नै नभएको योजनाहरूको पनि माग आउने जस्ता चुनौती हामीले भाग्नुपरेको छन् । उपभोक्ताले बजेट अपुग भयो भनी बीचमा फेरि माग गर्ने समस्या छन् तर हामीले ठूला योजनाको तयारी गरिरहेका छौँ । प्राविधिक कर्मचारीको अभाव छ । सङ्घीय सरकारबाट समयमा नै बजेट निकासा नहुनु पनि चुनौती देखेका छौँ । आवश्यकता भन्दा पनि राजनीतिक दाउपेचमा योजनाको माग हुने हुँदा हुनुपर्ने ठाउँमा भन्दा खासै आवश्यक नभएको ठाउँमा विकास हुने सम्भावना देखिन थालेको छ ।

चालु आर्थिक वर्षका बजेटका खास विशेषता के–के हुन ? र ती कार्यान्वयन हुन्छन् भन्ने विषयमा आधार के–के छन् ?
यस पटकको बजेट अरू वर्षको भन्दा उत्कृष्ट छ भनेर हामीले भनेका छौँ । हामीले अति आवश्यक योजनामा बढी बजेट विनियोजन गरेका छाँै । महिलालाई उद्यमशील बनाउनेदेखि लिएर सेती नदी आसपासका क्षेत्रमा लिफ्ट सिस्टमबाट विभिन्न तीनवटा स्थानमा खानेपानीको व्यवस्था गर्ने, नगरबस सञ्चालन गर्नेसम्मका योजना हामीले अगाडि बढाएका छौँ । यी कामले नगरवासी प्रत्यक्ष रूपमा लाभान्वित हुने भएका छन् । यस आर्थिक वर्षभित्र दुईवटा नगरबस थप गर्ने तयारीमा छौँ । एउटा लामो यात्रा गर्न मिल्ने बस पनि ल्याउने तयारीमा छौँ । नगरपालिकाभित्र सडकबत्ती थप गर्ने, योजनाको विस्तृत अध्ययन प्रतिवेदनपछि मात्र योजना निर्माण गर्ने, फोहरमैला व्यवस्थापन, कृषिमा पकेट क्षेत्र विस्तार गर्न सिँचाइ अभाव भएका ठाउँमा सिँचाइका लागि योजना अघि बढाएका छौँ । सुधारिएको पानीघट्ट, खाली जमिनमा युवालाई तरकारी खेती गर्न तर्फ आकर्षित गर्ने कार्यक्रम सञ्चालन गरिरहेका छाँै । महिलालाई प्राविधिक शिक्षा, लोकसेवा आयोगलगायतमा तयारीमा सहयोगजस्ता यस वर्षका बजेटका विशेषता छन् ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds