logo
२०८१ बैशाख ७ शुक्रवार

  समाचार विश्लेषण  



खोपमा अनुदानको मात्र भर पर्दा ढिलो हुनसक्छ किन्ने तयारी जरुरी

स्वास्थ्य |


खोपमा अनुदानको मात्र भर पर्दा ढिलो हुनसक्छ किन्ने तयारी जरुरी


केशवराज पौडेल
काठमाडौं, पुस ३ गते । कोरोनाविरुद्धको भ्याक्सिन नेपालमा सहजै आयात कसरी गर्न सकिन्छ भन्ने बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राविधिक र व्यवस्थापकीय तयारी गरेको छ भने अर्थ मन्त्रालयले वित्तीय प्रबन्ध मिलाउन थालेको छ । सरकारी संयन्त्रले आर्थिक, प्राविधिक तथा व्यवस्थापकीय तयारी थाले पनि समयमै भ्याक्सिन पाउन धेरै प्रक्रिया पूरा गर्न आवश्यक रहेको डा.प्रकाश घिमिरे बताउनुहुन्छ ।
कोरोना भाइरसविरुद्धको खोपको चर्चा विश्व बजारमै चुलिएको छ । नेपालमा पनि कोरोनाविरुद्धको खोपको बारेमा निक्कै चर्चा परिचर्चा भैरहेको छ । विश्वमा १० वटा कम्पनीले तेस्रो चरणमा खोपको सफल परीक्षण गरेका छन् । केही देशले भने खोप लगाउन सुरु नै गरिसकेका छन् । तर कोभ्याम्सले भने कुनै पनि कम्पनीलाई यो समाचार तयार पार्दासम्म अन्तिम अनुमति दिएको छैन ।
विश्वका धेरै देशमा खोप उत्पादन भएको समाचार बाहिर आएसँगै नेपालले पनि त्यसको तयारीमा सरकारी संयन्त्र लागेको छ । नेपालमा कसरी र कुन समयमा खोप आउन सक्छ भनेर अध्ययन गरिरहनुभएको डा. घिमिरे धेरै कुरामा सरकारले ध्यान दिन नसकेको बताउनुहुन्छ ।
‘साना तथा गरिब देशहरुले समयमै प्रकोपको समयमा खोप नपाउन सक्छन्’ घिमिरेले थप्नुभयो,‘ त्यसका लागि समानुपातिक खोप प्रणाली हुने भए पनि निजी कम्पनीसँग खोप किन्न सरकारले तयारी थाल्नुपर्छ ।’
अहिले मात्रै हैन विश्वमा समय समयमा हुने महामारीविरुद्ध लड्न बन्ने खोपमा सबै देशको समान पँहुच विस्तारमा विश्व स्वास्थ्य संगठनले विगतदेखि नै समानुपातिक खोप वितरणमा ध्यान दिएको छ ।
कोराना विरुद्धको भ्यासकिन समानुपातिक रुपमा उपलब्ध गराउने अभियान (कोभ्याक्स) सबैले नेपालजस्ता गरिब देशमा समेत कोरोना भाइरसको खोपको सफल परीक्षण भएसँगै कसरी वितरण गर्ने भन्ने बारेमा चासो दिएको छ । यो समाचार तयार पार्दासम्म कोभ्याक्सले कुनै पनि खोप लगाउने बारेमा अनुमति दिएको छैन । कोभ्याक्सले जुनसुकै खोप बनेको खण्डमा नेपालले समानुपातिक रुपमा भ्याक्सिन पाउने प्रतिबद्धता व्यक्त गरेको छ । कोभ्याकले नेपाल जस्ता गरिब देशका राष्ट्रप्रमुखलाई यसको जानकारी गराइसकेको छ । तर नेपालमा कहिले खोप आउँछ भन्ने बारेमा यकिन विवरण भने बाहिर आएको छैन ।
‘नेपाल सरकारको अहिलेकै तयारी र विश्वमा भएको खोपको विकासक्रमलाई हेर्दा नेपालमा मार्च र अप्रिलभन्दा अघि खोप आउन सक्ने सम्भावनानै छैन’ डा.घिमिरे बताउनुहुन्छ ।
विश्वमा निजी कम्पनीहरुले मात्रै खोप बनाएको कारण अग्रिम एडभान्स दिन नेपाल सरकारले ढिला गर्न नहुने उहाँको तर्क छ । नेपालले अनुदानमा आउने खोपसँगै खोप खरिद गरेर लगाउनुपर्ने भएकाले त्यमसा ध्यान दिने बेला आएको उहाँले बताउनुभयो ।
‘भारत, चीन, जर्मनी, रुसका निजी कम्पनीले कोरोनाको खोप बनाइरहेका छन्,उनीहरुले कुनै पनि देशलाई निशुल्क खोप दिने हैनन्’ डा.घिमिरेले भन्नुभयो,‘ सरकारले अग्रिम बुकिङको पैसा दिएपछि मात्रै खोप आउन सुरु हुन्छ ।’
‘कोभ्याक्सले ग्लोबल्ली रुपमा अध्यनन गरेर सबै देशमा सहज उपलब्ध गराउँछ, तर कुनै पनि खोपले तेस्रो चरणभन्दा उता पार नगरेकाले नेपालमा मार्च अप्रिलसम्ममा मात्रै आउने सम्भावना छ’ डा.घिमिरेले भन्नुभयो । त्यसको लागि कोभ्याक्सका धेरै मापदण्ड पूरा गरेपछि मात्रै सबैलाई खोप उपलब्ध हुनेछ ।
कोरोना संक्रमणको अवस्था विश्वका सबै देशमा उस्तै भएकाले नेपालमा कुन देशमा बनेको खोप ठिक र कुनमा बनेको बेठिक भन्दा पनि नेपालले कुन देशमा निर्माण भएको औषधिको भण्डारण गर्न सक्छ भन्ने कुरा मुख्य रहेको उहाँले बताउनुभयो ।
‘माइनस ७० र माइनस २० डिग्रीमा राख्नुपर्ने खोप नेपालले राख्न सक्दैन’ खोपको भण्डारको क्षमताको बारेमा समेत अध्ययन गरिरहनुभएका उहाँले भन्नुभयो,‘नेपालमा २–८ डिग्रीसम्मको खोप उपयुक्त हुन सक्छ’ घिमिरेले भन्नुभयो, ‘नेपालजस्ता देशहरुलाई हेरेर पनि कोभ्याक्सले कुन खोप सिफारिस गर्ने हो गर्छ ।’ अहिले चर्चामा रहेका फाइजर लगायतको कम्पनीले उत्पादन गरेको खोप नेपालमा धान्न सक्ने अवस्था नै देखिदैन ।
विश्वमा २–८ डिग्रीसम्मका खोपहरु बन्दै गरेको कुरा पनि आएकाले त्यस्ता खोपबाट नेपालले लाभ लिन सक्छन् ।अक्सफोर्डले बनाएको खोप यस्तै प्रकृतिको रहेको चर्चा छ । कोभ्याम्समा जान धेरै कुरा पार गरेपछि मात्रै स्वीकृति पाउने भएकाले नेपालमा मार्च अप्रिलभन्दा अघि खोप आउने सम्भावना न्यून रहेको उहाँले स्पष्ट पार्नुभयो ।
‘विश्वमा अहिलेसम्म प्रयोग भएका भ्याक्सिनको डोज पहिलो पटक लगाएपछि १४ दिनमा लगाउने एक खालको खोप विकास भएको छ भने अर्को २८ दिनमा लगाउने’ डा.घिमिरेले भन्नुभयो ‘सबै कुरा हेरेर मात्रै कोभ्याम्सले अनुमति दिने भएकाले मार्च र अप्रिलमा मात्रै कोरोनाको खोप नेपालमा आउने सम्भावना देखिन्छ ।’
नेपाल सरकारले समेत खोप ल्याउन संयन्त्रहरुको विकास गरेको देखिएको छ । उहाँले भन्नुभयो , ‘नेपाल सरकारले कोभ्यासले अनुमति प्रदान गरेपछि नेपालले धान्न सक्ने खोप ल्याउन धेरै ढिला गर्नुहुन्न ।’
स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा. झलक शर्मा खोपको परीक्षण सफल भएसँगै नेपालमा पहिलो चरणमा खोप ल्याउने बताउनुहुन्छ । ‘खोप उत्पादन भएसँगै धनी, गरिब सबै देशका नागरिकलाई एकै पटक विश्व स्वास्थ्य संगठनले खोपको भाइल उपलब्ध गराउँछ’ डा.शर्माले थप्नुभयो, ‘त्यसको लागि कोभ्याक्सले सबै देशमा खोप उपलब्ध गराउँदैछ,खोप आएसँगै कसरी भण्डारण गर्ने र कसरी कस कसलाई लगाउने भन्ने बारेमा हामीले तयारी थालेका छौ, उहाँले भन्नुभयो । तर कुन खोप आउने भन्ने भएपछि मात्रै भण्डारणको बारेमा थप काम हुनेछ ।
नेपालमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन आयातका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राविधिक र व्यवस्थापकीय रूपमा तयारी गरे पनि भ्याक्सिन कहिले आउने भन्ने अन्योल छाएको छ । अहिलेसम्म विश्व स्वास्थ्य संगठनले कुनै पनि भ्याक्सिनलाई प्रमाणीकरण गरेको छैन । जसकारण कुन देशले उत्पादन गरेको भ्याक्सिन ल्याउने भन्ने अझै निर्णय हुनसकेको छैन । अहिलेसम्म विभिन्न देशले उत्पादन गरेको भ्याक्सिन ट्रायलका क्रममा छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा भ्याक्सिन ल्याउन प्राथमिकताका आधारहरू तय गरिएका छन् । सरकारले सुरक्षित, लाइसेन्स प्राप्त, भौतिक संरचना, पूर्वाधारसँग मिल्ने र कम मूल्यलाई आधार मानेर भ्याक्सिन आयात गर्ने तयारी गरेको छ ।
सरकारलाई कोभ्याक्समार्फत २० प्रतिशत जनतालाई पुग्ने भ्याक्सिन उपलब्ध हुनेछ भने बाँकी आवश्यक खोप सरकारले खरिद गर्नुपर्नेछ । अहिलेसम्म दुई सयभन्दा बढी कम्पनीले उत्पादन गरेका भ्याक्सिन परीक्षणका क्रममा छन् । सरकारले १५ वर्षमाथिका ७२ प्रतिशत जनसंख्यालाई भ्याक्सिन उपलब्ध गराउने योजना बनाएको छ । सरकारले हाल जनसंख्याको ७२ प्रतिशतलाई कोभिड १९ विरुद्धको खोप लगाउने योजनाअनुरूप काम गरिरहेको जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?