logo
२०८१ बैशाख ७ शुक्रवार



प्लाज्मा थेरापीको दायरा बढाइँदै, १५ अस्पताललाई अनुमति

स्वास्थ्य |
मुख्य समाचार |


प्लाज्मा थेरापीको दायरा बढाइँदै, १५ अस्पताललाई अनुमति


इश्वरचन्द्र झा
काठमाडौँ, साउन १९ गते नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले १५ वटा अस्पतालमा ‘कन्भेलेसेन्ट प्लाज्मा थेरापी’बाट उपचार प्रक्रिया सामानान्तर रुपमा अगाडि बढाउने भएको छ । विश्वभरि नै कोभिड–१९ बाट सङ्क्रमित भई स्वास्थ्य अवस्था जटिल भएर आईसीयू र भेन्टिलेटरको आवश्यकता हुने बिरामीमा ‘कन्भेलेसेन्ट प्लाज्मा थेरापी’को उपचार पद्धति उपयोगि सिद्ध भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वीकृतिमा तीन वटा निजी तथा १२ वटा सरकारी गरी १५ वटा अस्पतालमा सामानान्तर रुपमा प्लाज्मा थेरापीको अध्ययनमा संलग्न गराई उपचार गर्न अनुमति दिइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार उपचारका लागि अनुमति दिइएको १५ अस्पतालमध्ये आठ वटा काठमाडौँ उपत्यकाका छन् ।

हाल काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा मात्रै प्लाज्मा थेरापी उपचारको परीक्षण गरिएको छ । एकजनाको स्वास्थ्य अवस्थामा ७० प्रतिशत सुधार देखिएको छ । अर्को एक जना उपचारको प्रक्रियामा रहेको अस्पतालमा कोभिड–१९ प्लाज्मा थेरापीका संयोजक डा. सन्तकुमार दासले जानकारी दिनुभयो ।

उपत्यकाबाहिर सात वटा अस्पताललाई उपचारको अनुमति दिइएको छ । परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले उपत्यकाभित्रका मेडिसिटी, ग्राण्डी र हयाम्स अस्पताललाई ‘कन्भेलेसेन्ट प्लाज्मा थेरापी’को अध्ययनमा सहभागी गराइएको जानकारी दिनुभयो ।

परिषद्का अनुसार उपत्यकाको काभ्रेस्थित धुलिखेल अस्पताल, त्रिवि शिक्षण अस्पताल–महाराजगञ्ज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, शुक्रराज ट्रपिकल अस्पताल–टेकु, भक्तपुर अस्पताललाई उपचारका लागि अनुमति दिइएको छ । उपत्यकाबाहिर बीपी कोइराला स्वास्थ्य विज्ञान संस्थान–धरान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान–जुम्ला, नेपालगञ्ज मेडिकल कलेज, कोशी अस्पताल विराटनगर, नारायणी अस्पताल वीरगञ्ज, भेरी अस्पताल र सेती अस्पतालले प्लाज्मा थेरापीबाट उपचार गर्न पाउनेछन् ।

परिषद्ले यसअघि नै अध्ययनसँगै प्लाज्मा थेरापीबाट उपचार गर्न चिकित्सकहरूलाई प्रशिक्षण दिएको थियो । परिषद्का प्रमुख डा. ज्ञवालीले १५ वटै अस्पतालबाट दुई दुई जना चिकित्सकलाई अध्ययनमा सहभागी गराइएको जानकारी दिनुभयो । प्रत्येक अस्पतालबाट एक प्रमुख फिजिसियन र अर्को संयोजक गरी दुई जना अध्ययनमा सहभागी भएका थिए । डा. ज्ञवालीले अस्पतालमा जटिल प्रकारको बिरामीको चाप र माग अनुसार अस्पतालको सङ्ख्या घटबढ हुने प्रष्ट्याउनुभयो । ‘कन्भेलेसेन्ट प्लाज्मा थेरापी’बाट उपचार गर्दा बिरामी र रक्त दाता दुवैको मञ्जुरी आवश्यक हुने परिषद्ले जनाएको छ ।

रक्तदाताको मापदण्ड
– आरटी पीसीआरबाट कोरोना सङ्क्रमित भई मुक्त भएको
– रक्तदान पूर्व १४ दिनसम्म लक्षण देखा नपरेको
– रक्तदान गर्दा रेडक्रसले तोकेको मापदण्ड पूरा गरेको
परिषद्ले प्लाज्मा थेरापी गर्नुपर्ने बिरामीका लागि समेत स्वास्थ्य मापदण्ड तय गरेको छ ।
बिरामीको मापदण्ड
– १८ वर्ष उमेर पूरा भएको

-आरटी पीसीआर परीक्षणबाट कोभिड–१९ सङ्क्रमित भएको प्रमाणित
– अस्पतालमा भर्ना भई उपचार गराएको हुनुपर्ने
– बिरामीको स्वास्थ्य अवस्था गम्भीर भएको हुनुपर्ने
– ज्यान जोखिममा रहेको वा बिरामीको ज्यान जान सक्ने चिकित्सकबाट पुष्टि भएको

कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या तीव्र रुपमा बढिरहँदा स्वास्थ्य अवस्था जटिल भएका बिरामीको सङ्ख्या पनि थपिँदैछन् । पछिल्लो एक साताभित्र मात्रै कम्तीमा एक दर्जन व्यक्तिको सङ्क्रमणबाट मृत्यु भइसकेको छ । शरीरमा अक्सिजनको मात्रा कम भई सघन कक्ष र भेन्टिलेटरको आवश्यक हुने बिरामीमा प्लाज्मा थेरापीको उपचार सहयोगी सिद्ध भएपछि मुक्त भएका सङ्क्रमित आवश्यक हुने देखिएको छ । अनुसन्धान परिषद्ले हाल २५ जना निको भएका सङ्क्रमित तयारी अवस्थामा रहेको जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरि हाल ३६ जना आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । प्रदेश १ मा चार जना, प्रदेश २ मा सात जना, बाग्मती प्रदेशमा २२ जना, प्रदेश ५, कर्णाली र सुदूरपश्चिममा एक/एक जना गरी तीन जना आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । आईसीयूमा भर्ना भएका बिरामीमा प्लाज्मा थेरापीपछि ज्यान बचाउन सकिने भएपछि ‘कन्भेलेसेन्ट प्लाज्मा थेरापी’को उपचार प्रकृयालाई प्राथमिकतामा राखेर मन्त्रालयले अगाडि बढाएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?