logo
२०८० चैत्र १५ बिहीवार



नेपालमा कोरोना मृत्युदर दक्षिण एसियाका पाँच राष्ट्रभन्दा कम

स्वास्थ्य |


नेपालमा कोरोना मृत्युदर दक्षिण एसियाका पाँच राष्ट्रभन्दा कम


इश्वरचन्द्र झा
काठमाडौँ, असार २४ गते । नेपालमा कोरोना सङ्क्रमितको मृत्युदर दक्षिण एसियाका पाँच राष्ट्रभन्दा कम रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कबमोजिम नेपालमा प्रति दशलाखमा एक जनाको मात्रै मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट ३५ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार पाकिस्तान, अफगानिस्तान, भारत, मल्दिभ्स र बङगलादेशको अपेक्षा नेपालमा कोरोना सङ्क्रमितको मृत्युदर कम रहेको छ । दक्षिण एसियामा प्रतिदश लाखमा सबैभन्दा बढी मृत्युदर हुने पाकिस्तान र अफगानिस्तान छन् । पाकिस्तानमा प्रति दश लाखमा २२ जना र अफगानिस्तानमा २४ जना सङ्क्रमितको मृत्यु भएको छ । भारतमा भने प्रति दश लाखमा १५ जना सङ्क्रमितको मृत्यु भएको छ ।

नेपालमा आइसोलेसन, क्वारेन्टिन वा अस्पतालमा अन्य रोगका लागि भर्ना भई मृत्यु भएको खण्डमा स्वाब परीक्षण गरी कोरोना सङ्क्रमणले मृत्यु भए/नभएको पुष्टि गरिन्छ । क्वारेन्टाइन वा आइसोलेसन बाहिर मृत्यु भएको खण्डमा लक्षण देखिएपछि मात्रै स्वाब परीक्षण गरिदै आएको छ । तर स्वास्थ्य मन्त्रालयले नै नेपालमा ९९ प्रतिशत लक्षणविहीन सङ्क्रमित रहेको जनाएको छ । जसले यथार्थ मृत्युदर बढ्ने अनुमान गरिएको छ ।

अफगानिस्तानमा हालसम्म ३३ हजार ५९४ जनामा सङ्क्रमणको पुष्टि भएको छ । सङ्क्रमितमध्ये ९३६ जनाको मृत्यु भएको छ । पाकिस्तानमा भने दुई लाख ३७ हजार ४८९ जना सङ्क्रमित रहेकोमा चार हजार ९२२ जनाको मृत्यु भएको छ । बङ्गलादेशमा प्रति दशलाखमा १३ जनाको मृत्यु भएको छ । भारतमा सात लाख ४२ हजार ४१७ जना सङ्क्रमित छन् ।
मृतकको सङ्ख्या दक्षिण एसियामै सबैभन्दा बढी भारतमा छन् । मृतक सङ्ख्याको आधारमा भारत आठौं सबैभन्दा बढी प्रभाबित राष्ट्र हो । भारतमा २० हजार ६४२ जना सङ्क्रमितको मृत्यु भएको छ ।

कोरोनाभाइरस सङ्क्रमणले थलिएको अमेरिका, ब्राजिलसहित यूरोपेली राष्ट्रहरूको अपेक्षामा पनि नेपालमा मृत्युदर थोरै रहेको मन्त्रालयले जनाएको छ । अमेरिकामा सङ्क्रमित हुने २९ लाख ९६ हजारभन्दा बढी हुँदा एक लाख ३१ हजार ४८० जनाको मृत्यु भएको छ । ब्राजिलमा १६ लाखभन्दा बढी सङ्क्रमितमध्ये ६६ हजार ७४१ जनाको मृत्यु भएको छ ।

पीसीआर परीक्षणमा पनि नेपालको दर उच्च

दक्षिण एसियाली राष्ट्रहरूको अपेक्षा नेपालमा प्रति दश लाख व्यक्तिमा कोरोना परीक्षणको दर पनि अफगानिस्तान, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान र भारतभन्दा उच्च छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ बारे अद्यावधिक तथ्याङ्क प्रस्तुत गर्न दैनिक रुपमा गर्दै आएको पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा प्रति दश लाख व्यक्तिमध्ये नौ हजार १५६ जनामा परीक्षण गरिएको बताउनुभयो । नेपालमा दैनिक रुपमा चार हजारदेखि छ हजारसम्मको नमूना सङ्कलन गरी परीक्षण गरिँदैआएको छ । बुधबार चार हजार ६९६ जनाको परीक्षण गरिएको छ । मङ्गलबार अहिलेसम्मकै सबैभन्दा बढी छ हजार १३३ जनाको परीक्षण गरिएको थियो ।

भारतमा प्रति दिन करिब एक लाख पचास हजारदेखि दुई लाख व्यक्तिको नमुना लिइ परीक्षण हुँदै आएको छ । विश्वमा परीक्षणको अवस्थाको अपेक्षा जनसांख्यिक चापको आधारमा उक्त परीक्षण दर औसत मानिन्छ । मन्त्रालयका अनुसार प्रति दशलाखमा अफगानिस्तानमा एक हजार ९९०, बङ्गलादेशमा पाँच हजार ४१६, श्रीलङ्कामा पाँच हजार ३१९, पाकिस्तानमा छ हजार ६४० र भारतमा सात हजार ५८८ जनाको परीक्षण गरिएको छ । नेपालमा भने प्रति दशलाखमा नौ हजार १५६ जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

विश्वभरि एक करोड १८ लाख ५० हजार ८८६ जनामा सङ्क्रमणको पुष्टि भएको छ । पाँच लाख ४४ हजार ७२२ सङ्क्रमितले ज्यान गुमाएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?