logo
२०८१ बैशाख ८ शनिवार



गर्भवतीलाई चिकित्सकको सुझाव

स्वास्थ्य |
मुख्य समाचार |


गर्भवतीलाई चिकित्सकको सुझाव



चाँदनी हमाल

काठमाडौँ, चैत १७ गते । कीर्तिपुरकी मुना राउत गर्भवती भएको नौ महिना भयो तर कोरोना सङ्क्रमणको भय र एकान्त बास (लकडाउन) को अवस्थाले उहाँ चिन्तित हुनुहुन्छ । वैशाखको अन्तिम साता सुत्केरी हुने मिति चिकित्सकले दिएका छन् । नौ महिना लागेपछि दिएकोे मितिभन्दा अघि वा पछि जुनसुकै बेला सुत्केरी हुने सम्भावना पनि चिकित्सकले औँल्याएका छन् तर अस्पतालमा सेवा र चिकित्सकको परीक्षण बन्द छ ।
दुई दिन अघिकै कुरा हो । पेट दुखेर कीर्तिपुर अस्पताल पुग्दा चिकित्सकले नै किन आएको भनेर हकारे । राउतले कोरोना भाइरस जसमा पनि हुनसक्छ, यसरी जुनसुकै बेला अस्पताल नआउनुहोस् भने भनेर सुनाउनुभयो । सुत्केरी व्यथा लागेपछि मात्र अस्पताल आउनु भनेर फर्काइयो । हुन पनि गर्भवती अवस्था संवेदनशील भएकाले सङ्क्रमणको जोखिम बढी हुन्छ । चिकित्सककै सल्लाहमा काम गर्नुपर्छ । सबैतिरको बन्दले राउत जस्तै धेरै गर्भवती अन्योलमा छन् ।
देशकै सबैभन्दा ठूलो परोपकार प्रसूति गृहमा समेत बहिरङ्ग सेवा बन्द छ । त्यहाँ अति आवश्यक जनरल सेवा र इमर्जेन्सी सेवा मात्र खुला छ । त्यो भनेको सुत्केरी गराउने सेवा मात्र हो । अन्य गर्भवती र बिरामीलाई पनि चिकित्सकले दिएको औषधि घरमै सेवन गर्ने र अति आवश्यक परेमा मात्र अस्पताल आउन भनिएको छ ।
कोरोनाको सङ्क्रमण रोक्न सरकारी आदेश अनुसार अन्य अस्पतालले पनि बहिरङ्ग सेवा बन्द गरेका छन् । आकस्मिक कक्ष मात्र चलेको छ । प्रसूति गृहमा मात्र दैनिक दुई सयभन्दा बढी बहिरङ्ग सेवामा महिला गर्भ परीक्षणका लागि आउँथे । यहाँ दैनिक ७० जनाभन्दा बढी सुत्केरी हुनेगर्छन् । पाटन अस्पतालमा दैनिक १५ जना सुत्केरी हुन्छन् । चितवनकै भरतपुर अस्पतालमा पनि दिनको ३० जनाभन्दा बढी सुत्केरी हुनेगर्छन् ।
गर्भवती मात्रै होइन सुत्केरीलाई पनि अस्पतालमा धेरै नबस्न चिकित्सक सुझाउँछन् । अरू मानिस जस्तै सुत्केरी र गर्भवतीलाई पनि घरमै सुरक्षित राख्नुपर्ने सुझाव स्त्रीरोग विशेषज्ञ डा. विमला मल्ल दिनुहुन्छ । बहिरङ्ग र अन्य सेवा बन्द भए पनि चिकित्सक र स्वास्थ्यकर्मी पनि विशेष अवस्थामा बाहेक अस्पताल र बाहिर निस्केका छैनन् ।
उहाँले सुत्केरी हुने बेला भएका गर्भवतीले आफू नजिक रहेको अस्पतालमै जानु राम्रो हुन्छ भन्नुभयो । उहाँका अनुसार बन्दका बेला सवारी नपाउने, जति टाढा गयो उति नै सङ्क्रमणको सम्भावना बढी हुन्छ । त्यसैले गर्भवती स्वयं र परिवारका सदस्यले पहिल्यै सुत्केरी गराउने अस्पताल, साधन र अन्य आवश्यक तयारी गर्नुपर्छ ।
लकडाउन लम्बिएको अवस्थामा गर्भवती र सुत्केरी मात्र होइनन् अन्य बिरामीलाई पनि अप्ठेरो पर्ने चिकित्सक डा. मल्ल बताउनुहुन्छ । उहाँले उच्च जोखिम वा सिकिस्त भएमा आफूसँग जँचाएको कागजपत्र बोकेर एम्बुलेन्समा सुविधा भएको अस्पताल जान सक्ने औँल्याउनुभयो ।
यतिबेला उहाँलाई गर्भवती र सुत्केरीले बढी डराएर फोन गरिरहेका छन् । मल्लले तीन हप्ता बाँकी छ, एक महिना बाँकी छ, के गरौँ डाक्टर साब भन्छन् भन्नुभयो । त्यसो हुँदा मल्लले शिशु पेटमा चलेको छ कि छैन भनेर सोध्नुुुहुन्छ । शिशु चलेको छ, दुखाइ छैन, रक्तश्राव छैन भने नआत्तिनु भनेर सम्झाउनुहुन्छ । उहाँ बाहिर ननिस्कनु र आराम गर्न भन्नुहुन्छ । यसैगरी उहाँले पोषिलो खानासँगै दिइएको आइरन र क्याल्सियम निरन्तर गर्भवतीले सेवन गर्नुपर्ने उल्लेख गर्नुभयो ।
सामान्य मानिसमा पनि यतिबेला कतै न कतै मानसिक तनावको अवस्था छ । गर्भमा शिशु भएकी महिलामा झन् बढी तनाव हुनेहुँदा त्यसलाई कम गर्न परिवारका सदस्यले मद्दत गर्नुपर्नेमा जोड दिनुभयो ।

सोमबारबाट अस्पताल सञ्चालनमा
यो अस्पताल सोमबारबाट सञ्चालनमा ल्याइने कीर्तिपुरका नगरप्रमुख रमेश महर्जनले जानकारी दिनुभयो । प्रारम्भमा ३० जनाको उपचार गर्न सकिने र पछि विस्तार गरी ५० बेडको बनाइने योजना नगरपालिकाले बनाएको छ । त्यसका लागि आवश्यक तयारी सामग्रीको जोरजामसमेत गरिएको
जनाइएको छ ।
हाल बिरामीको उपचारका लागि स्वास्थ्यकर्मीको अभाव रहेको उल्लेख गर्दै नगरप्रमुख महर्जनले कीर्तिपुर अस्पताल र स्थानीय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको समन्वयमा आइसोलेसन कक्ष सुरु गरिने जानकारी दिनुभयो ।
आइसोलेसन कक्षमा नगर क्षेत्रका सामान्य रुघाखोकी तथा ज्वरो आएका बिरामीको उपचार गरिनेछ । कोरोना सङ्क्रमणको त्रासमा नागरिक सम्बद्ध अस्पतालमा नै पुग्ने गरेको उल्लेख गर्दै नगरप्रमुख महर्जनले ती सबै बिरामीको उपचार नगरपालिकाकै पहलमा स्थापित आइसोलेसन कक्षमा गरिने जनाउनुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?