logo
२०८० चैत्र १६ शुक्रवार



दशगजामा छाडिएका ९१ जना नेपालीलाई छलफल पछि पुनः भारततर्फ फर्काइयो

फिचर |
प्रदेश |


दशगजामा छाडिएका ९१ जना नेपालीलाई छलफल पछि पुनः भारततर्फ फर्काइयो


जनार्जन खत्री
सर्लाही, बैशाख ५ गते । भारतीय सुरक्षाकर्मीले नेपाल–भारत सीमास्थित कनौली नाकामा ल्याएर छाडेका ९१ जना नेपालीलाई पुनः भारततर्फ नै फर्काइएको छ ।
भारतीय सुरक्षाकर्मीहरुले बिहीवार राती सर्लाही सदरमुकाम मलङ्गवा नगरपालिकामा पर्ने लखन्देही खोलामा दशगजा नजिकै ट्रकमा ल्याएर नेपालीहरुलाई छाडेका थिए । त्यसरी छाडिएकामध्ये ९१ जनालाई भारतीय सुरक्षा अधिकारीसँग समन्वय गरी सुक्रवार अपरान्ह पुनः भारततर्फ नै फर्काइएको हो ।
निरन्तरको समन्वयपछि क्वारेन्टाइनमै राख्ने गरी दशगजामा ल्याएर छाडिएका सबै नेपालीलाई भारततर्फ फकाईएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिनुभयो ।
बिना जानकारी सीमामा ल्याएर छाडिएका नेपालीलाई जिल्ला स्तर र माथिल्लो निकायबाट समेत भारतीय अधिकारीहरुसँग सम्वाद तथा सहकार्य गरी घण्टौंपछि भारततर्फ नै फकाईएको हो । सीमामा ल्याएर छाडिएकामध्ये २४ जना भने सर्लाहीको चन्द्रनगर आइपुगेका छन् । ९१ जनालाई नेपालतर्फका सुरक्षाकर्मीले सीमामै रोकेर राखेपनि २४ जना भने लुकिछिपी चन्द्रनगरसम्म आइपुगेका हुन् ।
उनीहरुलाई अहिले कामद माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको र तत्कालै बबरगञ्जस्थित दुर्गा खोभारी जनता माध्यमिक विद्यालयमा क्वारेन्टाइन तयार पारेर सार्ने तयारी भइरहेको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोले बताउनु भएको छ । कामद माविको क्वारेन्टाइनमा केही दिनअघि मात्रै भारतबाट लुकिछिपी आएका ५० जनालाई समेत राखिएको छ ।
यस्तै केही दिनअघि भारतबाट लुकिछिपी आएका ९ जना नगरवासीलाई जिल्लाको ईश्वरपुर नगरपालिकाले पनि क्वारेन्टाइनमा राखेर निगरानी गरिरहेको नगरप्रमुख मनोजकुमार देवकोटाले जानकारी दिनुभयो । नेपाल–भारत दुवै देशमा लकडाउन चलिरहकै अवस्थामा भारतमा अलपत्र अवस्थामा रहेका नेपालीहरु खुला सीमा नाका हुँदै जिल्ला आउने प्रयास गरिरहेका छन् ।
त्यसरी आउनेहरुबाट कोरोना भाइरस (कोभिड–१९) भित्रने जोखिम धेरै रहेको भन्दै स्थानीय प्रशासनले सीमामा व्यापक मात्रामा सुरक्षाकर्मी तैनाथ गरी कडाईका साथ निगरानी गरिरहेको जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?