logo
२०८१ बैशाख ४ मंगलवार



सेल्फ क्वारेन्टाइनमा कलाकार

मनोरञ्जन |


सेल्फ क्वारेन्टाइनमा कलाकार



गोरखापत्र समाचारदाता

काठमाडौंँ । कोभिड–१९ बाट बच्न कलाकार सतर्क हुन थालेका छन् । नेपालीदेखि हलिउड, बलिउड कलाकार सेल्फ आइसोलेसनमा बसिरहेका छन् । कोरोनाको प्रभाव नेपाली सिनेमाको छायाङ्कनदेखि प्रदर्शनसम्म परेको छ । त्यसैले अहिले कलाकार फुर्सदमा छन् । अधिकांश कलाकार परिवारका साथ फुर्सदको समय बिताइरहेका छन् । दीपक वज्राचार्य अस्ट्रेलिया टुर स्थगित गरी स्वदेश फर्किएर सेल्फ क्वारेन्टाइनमा बसिरहनुभएको छ । टुरमा गएको उहाँको समूह सेल्फ क्वारेन्टाइनमा बसेको गायक वज्राचार्यले जानकारी दिनुभयो । उहाँले म सहितको मेरो समूह अस्ट्रेलियामा दुई महिनाका लागि कन्सर्ट गर्न गएको थियो तर कोरोनाले विश्वभर आतङ्क फैलाएको थाहा पाएपछि दुई हप्तामै स्वदेश फर्किहाल्यौँ । हामी अहिले सेल्फ क्वारेन्टाइनमा बसिरहेका छौँ भन्नुभयो ।
वज्राचार्यले सरकारको निर्णय पालना सबैले गर्नुपर्ने भन्दै आफूले पनि कोरोना भाइरसबाट बच्न सबै नियम पालना गर्ने बताउनुभयो ।
यसैबीच कलाकार दीपकराज गिरीले आफू करिब तीन महिनादेखि क्वारेन्टाइनमा बसिरहेको बताउनुभयो । उहाँले तीन महिनादेखि नयाँ चलचित्रको स्क्रिप्ट लेखिरहेको छु । बिहानदेखि बेलुकासम्म म घरमै बसेर स्क्रिप्ट लेखिरहेको हुन्छु । त्यसैले म यो भीडभाड र कोरोना सङ्क्रमणबाट टाढै छु भन्नुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?