logo
२०८० चैत्र १६ शुक्रवार



एसईईका लागि लकडाउन खुले पछि दुई साताकाे समय दिइने

शिक्षा |


एसईईका लागि  लकडाउन  खुले पछि  दुई साताकाे समय दिइने


शेषकान्त पण्डित
काठमाडौँ, चैत २१ गते । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रण गर्न सरकारबाट जारी गरिएको लक डाउन पूर्णरूपमा खुलेको कम्तिमा दुई सातापछि मात्रै माध्यमिक शिक्षा परीक्षा (एसईर्ई) हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले लकडाउन पूर्णरुपमा खुलेर जनजीवन पूर्ववत अवस्थामा फर्केपछि मात्र परीक्षा गरिने जानकारी दिएको छ । कोरोना भाइरसको सङ्क्रमणको कारण चैत ६ गतेबाट सञ्चालन हुनुपर्ने एसईई परीक्षा हाल स्थगनको अवस्थामा छ ।
बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले विना कुनै शर्त लक डाउन खुलेपछि एसईईको नयाँ परीक्षा तालिकाका बारेमा जानकारी दिइने बताउनुभयो । विद्यार्थीलाई दुई साताको समय दिएर मात्रै परीक्षा गरिने उहाँको भनाइ छ ।
एउटा परीक्षा केन्द्रमा तीन सय जनासम्म विद्यार्थी परीक्षामा सहभागी हुने भएकाले भयरहित तरिकाले परीक्षा सञ्चालनका लागि जनजीवन सामान्य अवस्थामा आउनुपर्ने उहाँको भनाइ छ । अहिलको अवस्थामा भने कहिले परीक्षा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा केही भन्न नसकिने उहाँले बताउनुभयो ।
१२ र ११ को परीक्षा रोकिन सक्ने
यसैबीच, सरकारले चैत २५ गतेसम्मका लागि जारी गरेको लक डाउन थप गरिएको अवस्थामा कक्षा १२ र ११ को वार्षिक परीक्षासमेत स्थगित हुने भएको छ । यस विषयमा सरकारले लिने पछिल्लो निर्णयपछि मात्रै निचोडमा पुगिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले लक डाउन लम्ब्याइएको अवस्थामा कक्षा १२ र ११ को वार्षिक परीक्षा रोकिने बताउनुभयो । बोर्डले २०७७ साल बैशाख दोस्रो साताबाट कक्षा १२ तथा बैशाख तेस्रो साताबाट कक्षा ११ को परीक्षा तय गरेको छ ।
लक डाउन खुलेको अवस्थामा पूर्व निर्धारित कार्यतालिका अनुसार नै गर्न सकिने जनाइएको छ । कक्षा १२ र ११ को परीक्षाका लागि आवश्यक तयारी गरिएकाले पूर्व निर्धारित कार्यतालिका अनुसार नै गर्न सकिने अध्यक्ष पौडेलको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?