logo
२०८० चैत्र १६ शुक्रवार

  सन्दर्भ:अन्तर्राष्ट्रिय आप्रवासी दिवस  



महिलालाई झुक्याएर विदेश लग्ने र अलपत्र पार्ने क्रम बढ्दो

अर्थ |
पढ्नै पर्ने |
समाज |


महिलालाई झुक्याएर विदेश  लग्ने र अलपत्र पार्ने क्रम बढ्दो


मुकुन्द गैरे
काठमाडौं, पुस ३ गते । भिजिट (भ्रमण) भिसा भ्रमण को नाममा धेरै नेपाली महिला विभिन्न मुलुकमा अलपत्र मात्र होइन बेचिने गरिएका छन् । सरकारले विदेशमा भिजिट भिसामा जाने नेपालीले भिसाको दुरुपयोग गरेको ठहर गर्दै अध्यागमन कार्यविधि संशोधनसहित केही नयाँ नियम थप गरेर कडाई गर्ने बताएको छ ।

नेपाली चेली रोजगारीको नाममा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वा केही भिजिट भिसामा विदेश जाने गरेको विभिन्न तथ्याङ्कले देखाउँछ । यसैबीच, प्रहरी प्रधान कार्यालय मानव बेचविखन अनुसन्धान व्यूरोले भिजिट भिसामा लगेर दलालहरुले अलपत्र पार्ने गरेको घटना बढेको बताएको छ ।

मानव बेचविखन अनुसन्धान व्यूरोका प्रवक्ता अनुराग कुमार द्विबेदी भिजिट भिसा लगाएर विभिन्न मुलुक लैजान खोज्ने वा पैसा लिएर बीच बाटोमै अलपत्र पार्ने गरेको उजुरी आउने गरेको बताउनुहुन्छ ।

यस्ता किसिमका गिरोहमाथि निगरानी बढाए पनि मानव तस्करी धन्दा नरोकिएको उहाँ बताउनुहुन्छ । नेपालको विमानस्थलमा कडाई हुँदा भारतको नाका हुँदै अन्य तेस्रो मुलुकमा महिला पु¥याउने गरेको उजुरी आउने गरेको उहाँ बताउनुहुन्छ ।

महिलाहरु ती देशहरुमा पुगेपछि यौन हिंसामा समेत पर्ने गरेको व्यूरोको दाबी छ । नेपालबाट भारत जाने ठाउँमा २४० चेकपोष्ट भए पनि झुक्काएर  कुनै माध्यमबाट छिर्ने गरेको पाइएको छ ।

प्रहरीले चेकजाँचलाई कडाई नै गरे पनि खुल्ला सिमाना भएको कारण पूर्णरुपमा रोक्न नसकिएको अनुसन्धान व्यूरोको भनाइ छ । धेरै महिला बाहिरको मान्छेबाट भन्दा पनि आफ्ना नजिकका आफन्तबाटै ठगिनेदेखि बेचिने गरेको अनुसन्धान व्यूरोको अनुसन्धानले देखाउँछ ।

धेरै महिला आफ्नो आर्थिक स्थिति कमजोर भएकै कारण उनीहरु माथि फाईदा लिन त्यस्ता गिरोह लाग्ने गरेको उहाँ बताउनुहुन्छ । धेरै लोभलाचका साथ युरोप, अमेरिका छिर्न खोज्नाले सजिलै ठगिने गरिएका छन् ।

दलालले आकर्षक तत्वको लोभ देखाएर अवैधानिक रुपमा भारतमा समेत लगेर अलपत्र पार्ने र पैसा लिएर फरार हुने घटना बढेको प्रहरी बताउँछ । दलालहरु महिलालाई मलेसिया, कुवेत, लेवनान, साउदी अरब, ओमान, युरोप, दक्षिण अफिकालगायत देशमा लगेर अलपत्र र सस्तो मूल्यमा श्रम शोषणदेखि यौन शोषण गर्ने गरेको समेत अनुसन्धानमा खुल्न आएकोे उहाँ बताउनुहुन्छ ।

पछिल्लो समय युरोप र अमेरिका पठाउने नाममा ठग्नेक्रम बढिरहेको व्यूरो बताउँँछ । पढेलेखेका अर्थात् धन सम्पति भएका समेत युरोप र अमेरिका जाने लोभमा ठूलो महत्वकांक्षाका कारण ठगिने गरिएका छन् ।

भिजिट भिसामा लैजाने मानिसहरुलाई कडाईका साथ निगरानी र कार्वाही गर्न सकियो र जाने मानिसमा समेत सचेतना फैलाउन सकिए मात्र यस्तो कार्यलाई नियन्त्रण गर्न सकिन्छ ।

भिजिट भिसामा विदेश जानेको हकमा उसकोे घुम्न जाने आर्थिक स्थितिलगायत के उद्देश्यमा त्यहाँ जान्दै छ भन्ने विषयमा निगरानी बढाउन सके यस्तो कार्यलाई रोक्न सकिने कुरामा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

अध्यागमनलगायत सम्बधित क्षेत्रबाट कडाई र पासपोर्ट चेक गर्ने कर्मचारी इमान्दारीका साथ काम गर्नुपर्नेमा उहाँको जोड छ ।यसैगरी कोरोनाको महामारीका बीच भारतबाट मात्रै २८ जना महिलाको उद्वार गरिएको अनुसन्धान व्यूरोको तथ्याङकले देखाउँछ ।

व्यूरोका अनुसार २०७५ साल चैत्र ७ गतेदेखि २०७७ असारसम्म २३४ महिला र ६६ पुरुष गरी तीनसय जनाको उद्वार गरेको छ । भातर, कुवेत, किर्गिस्तान, इराक, लिबिया, ग्रिस, केन्या, इन्डोनेसिया, मालवि, म्यानमारलगायत मुलुकबाट उद्वार गरिएको छ ।

भिजिट भिसामा रोजगारीमा पठाउने नाममा विभिन्न देशमा महिलालाई पु¥याउने गरेको घटना देखिने गरेको माईती नेपालका अध्यक्ष विश्व खड्का बताउनुहुन्छ ।
पठाउने दलाल भन्दा नक्कली कागजात बनाई दिने मानिस जेलमा पर्ने गरेको धेरै घटना देखिएको उहाँ बताउनुहुन्छ ।

नयाँ कानुन ल्याएर मानिसलाई विदेशै जान रोक्नु भन्दा भएका कानुनलाईनै सबै पास्पोर्ट चेक गर्ने देखि कागजात बनाई दिने कर्मचारी इमान्दार हुने हो भने यस्ता ठगिका घटनामा कमी आउनसक्ने उहाँ बताउनुहुन्छ ।

माईती नेपालले मात्रै कोरोना महामारी यता भारतमा अलपत्र परेका २५ महिलालाई उद्वार गरेको छ । भिजिट भिसामा जाने नेपालीको हकमा अब थपिने कार्यविधि संशोधनमा भिजिट अवधिभरको लागि बीमा, घुम्न जानेको उद्देश्य, घुम्न जान सक्ने आधार क्षमता खुल्ने खालका आधार थप्ने गरी गृहकार्य भइरहेको विभागको भनाइ छ ।

कुनै संघ, संस्था वा व्यक्तिले दुरुपयोग गरेर लैजानेलाई पनि निगरानी बढाएर भागिदार बनाउने गरी विभाग छलफलमा जुटेको हो । घुम्न जाने व्यक्तिको बीमा अनिवार्य गरियो भने पनि कुनै प्रकोप आए वा अलपत्र परे बीमा बापत केही राहत मिल्ने अध्यागमन विभागको ठहर छ ।

यसैलाई मध्यनजर गरेर वैदेशिक रोजगार विभाग र अध्यागमन विभागले समन्वय गरेर वैदेशिक रोजगार कम्पनी, ट्राभल एजेन्सी, शैक्षिक परामर्श कम्पनीलगायतमा निगरानी बढाइएकाले भिजिटमा जानेकोे संख्या कम भएको अध्यागमन विभागका महानिर्देशक रमेश कुमार केसी बताउनुहुन्छ ।

वैदेशिक रोजगार विज्ञ डा. गणेश गुरुङ भिजिट भिसाको दुरुपयोग गर्ने कुरा नयाँ नभएर विगतदेखि भइरहेको बताउनुहुन्छ । यसलाई रोक्न एक दुईवटा नियम बदलेर मात्रै भिजिट भिसाको दुरुपयोग नरोकिने उहाँको दाबी छ । 

उक्त दुरुपयोगलाई रोक्ने हो भने अनुगमनमाथि पनि अनुगमन अर्थात् दोहोरो अनुगमन गर्न आवश्यक रहेको डा. गुरुङ बताउनुहुन्छ । एअरपोर्टमा सेटिङ मिलाउने र पठाउने व्यक्ति माथि निगरानी बढाउन आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप