logo
२०८१ बैशाख ८ शनिवार

  पोखरा अन्तर्राष्ट्रिय विमानस्थल  



हाल ६२ प्रतिशत काम सम्पन्न, समयमै सक्ने प्रतिबद्धता

अर्थ |
पर्यटन |


हाल ६२ प्रतिशत काम सम्पन्न, समयमै सक्ने प्रतिबद्धता


तारा चापागाईं दुवे
पोखरा, साउन १२ गते । राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ६२ प्रतिशत काम सम्पन्न भएको छ । निर्माणाधीन आयोजनाको हालसम्म धावनमार्ग, आन्तरिक र बाह्य टर्मिनल भवन, ह्याङ्गर गरी ६२ प्रतिशत काम सम्पन्न भइसकेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले बताउनुभयो ।
पर्यटनको राजधानी शहर पोखरालाई विश्वका अन्य शहरसँग सीधा हवाई सम्पर्क जोड्ने लक्ष्यसहित निर्माणाधीन विमानस्थलको चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीले सन् २०२१ को जुलाई १० मा निर्माण सकेर नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने सम्झौता छ ।
हालसम्म १२ अर्ब रकम खर्च भएको निर्माण आयोजना प्रमुख विनेश मुननकर्मीले जानकारी दिनुभयो । हाल २४४ चिनियाँ र एक सय जना नेपालीले दैनिक काम गरिरहेका विमानस्थलमा तोकिएको समय सीमाभन्दा छ महिनाअघि नै सक्ने लक्ष्यका साथ योजनाको काम भइरहेको भए पनि कोरोनाका कारण असर पार्ने देखिएको प्रमुख मुननकर्मीको भनाइ छ ।
“बन्दाबन्दीका कारण भारत र चीनबाट आउनुपर्ने आवश्यक निर्माण सामग्री सहजरुपमा आउन नसक्नु र नेपाली मजदुर पनि आवश्यकता अनुसार उपलब्ध नहुनुले झण्डै १० प्रतिशत काममा ढिलाइ भएको छ, तर कोरोनाको विषम परिस्थितिमा पनि काम रोकिएन, जारी रहयो । चीनको केरुङ नाकामा र भारतको कोलकत्ता बन्दरगाहामा निर्माण सामग्री रोकिएको छ ।” उहाँले बताउनुभयो ।

हवाइ मार्गलगायत अन्य नाकाबाट आवश्यक सामग्री सहज उपलब्ध हुन सके काम पनि समयमै सक्ने उहाँको भनाइ छ । अन्तर्राष्ट्रिय उड्डयन संस्था (आइकाओ) को मापदण्डअनुसार फोरडी मोडलमा पर्ने पोखरा विमानस्थलमा निर्माण गरिने विभिन्न १४ वटा भवनमध्ये हालसम्म अधिकांश भवनको डेकोरेसन, फिनिसिङ ‘सिभिल वर्क’ रनवे टर्मिनल, पार्किङ, ट्याक्सी वे तथा ड्रेन, ‘हाइ मास्ट फ्लड लाइट’ र ट्रान्सफर्मर बक्स जडान काम सकिएको मुननकर्मीले जानकारी दिनुभयो ।
विमानस्थलमा आइसोलेडेट पार्किङको ‘सववेश’ तथा भित्री पहुँचमार्ग निर्माण, सिँचाइका नाला निर्माण तथा सबै भवनको छाना छाउने काम र ‘हाइ मास्ट फ्लड लाइट’ र ट्रान्सफर्मर बक्स जडान सकिएको छ । विमानस्थलबाट बाहिर निस्कने प्रमुख सडक, कार पार्किङ र टर्मिनल भवनको वरिपरिको सडक पक्की गर्ने काम सकिएको छ ।
विमानस्थल निर्माणका लागि साविक छिनेडाँडा हाल पोखरा–१४ मा वि. सं. २०३२ मा तीन हजार एक सय रोपनी जमिन अधिग्रहण गरिएको थियो । आयोजनाको काम शुरु भएसँगै पहिलो चरणमा पाँच सय २१ रोपनी जमिन अधिग्रहण गरिएकोमा पछिल्लो पटक थप १०४ रोपनी जमिन अधिग्रहण गर्न लागिएपछि विमानस्थलले कुल तीन हजार ७२५ रोपनी क्षेत्रफल ओगट्ने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?