logo
२०८० चैत्र १६ शुक्रवार



सुख्खा बन्दरगाहमा कन्टेनर थुप्रिए, क्षमताभन्दा दोब्बर कन्टेनर

अर्थ |


सुख्खा बन्दरगाहमा कन्टेनर थुप्रिए, क्षमताभन्दा दोब्बर कन्टेनर
वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा थन्किएर रहेका कन्टेनरहरु, तस्बिर– दीपकप्रसाद गौतम



दीपकप्रसाद गौतम
वीरगञ्ज , चैत २२ गते । कोरोना भाइरसको संक्रमण नफैलियोस् भनी नेपाल सरकारले लक डाउन गरेपछि भारत हुँदै तेश्रो मुलुकबाट आएका दुईहजार भन्दा बढी कन्टेनर गन्तव्यसम्म पुग्न नपाई वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा थन्किएका छन् । १५ सय ४२ टि यू ई कन्टेनर राख्ने क्षमता रहेको सुख्खा बन्दरगाहमा अहिले २४ सय ५० टि यू ई कन्टेनर थन्किएर रहेका छन् भने करिब १८० टि यू ई कन्टेनर सुख्खा बन्दरगाह आउँदै गरेको अवस्थामा बाटोमा नै रहेका छन् ।

वीरगञ्जस्थित सुख्खा बन्दरगाह सञ्चालक कम्पनी हिमालय टर्मिनल प्रालिका व्यवस्थापक सदस्य अनिमेष कुमारले कन्टेनर आईरहेका तर जानुपर्ने कन्टेनर नगएकाले भन्सार क्षेत्रमा थन्किएको बताउनु भयो । सुख्खा बन्दरगाह भन्सारमा १४ सय ५३ वटा ४० फिटे लामा कन्टेनर र ३सय ४५ वटा २० फिटे छोटा कन्टेनर भरी सामान रहेको छ भने २ सय ८० २० फिटे र ११ वटा ४० फिटे कन्टेनर मात्र खाली कन्टेनर रहेका छन् । खाली र भरिएका कन्टेनर करिब बराबरीको हाराहारी रहनु पर्नेमा आयात गरिएको सामग्री गन्तव्यसम्म नपुगेकाले भरी कन्टेनर भन्सारमा नै थन्किएको उहाँले बताउनुभयो । २ देखि ३ दिनको अन्तरमा कन्टेनर आईरहेको तर लक डाउनको कारण बारा र पर्सा बाहेक अन्यत्र कन्टेनर पठाउन नसकिएकाले थन्किएको सुख्खा बन्दरगाह सञ्चालक कम्पनी हिमालय टर्मिनल प्रालिका व्यवस्थापक सदस्य अनिमेष कुमारको दाबी छ ।

दैनिक २ सय ५० देखि ३ सय कन्टेनर सुख्खा बन्दरगाहबाट निस्कने गरेकोमा हालका दिनमा १ सय २० देखि १ सय ५० वटा कन्टेनरबाट सामान लिएर जाने गरेकाले प्रतिदिन बन्दरगाहमा कन्टेनरको संख्या बढ्दै गएको हो । कन्टेनर धेरै भएकाले तीन देखि चार तह मा गरेर कन्टेनर भण्डारण गरिएको तर कन्टेनर डेरीभरी दिँदा तीन चार तह मुनि चेपिएको कन्टेनर निकाल्न अझ समस्या पर्ने गरेकाले काम काज मा बढी समय र खर्च लाग्ने गरेको उहाँले बताउनुभयो ।

लक डाउनका कारण मुलुक बन्द रहेकाले कन्टेनर बोक्ने लरी चलाउने चालकहरुले जीतपुर , सिमरा भन्दा टाढाको कन्टेनर नलाने गरेको बताईन्छ । बाटोमा खाना खाने होटलहरु बन्द रहनु , पन्चर बनाउने पसलहरु बन्द अवस्थामा रहनु, गाडी बिग्रिएमा बनाउने मेकानिकहरु र मेसिनरी पार्ट पुर्जा बन्दले गर्दा नपाउनु जस्ता कारणले गर्दा लामो दुरीका कन्टेनर जान नसकेको सुख्खा बन्दरगाह सञ्चालक कम्पनी हिमालय टर्मिनल प्रालिका व्यवस्थापक सदस्य अनिमेष कुमारले गोरखापत्रलाई बताउनुभयो ।
जीतपुर, सिमरा बाहेक लक डाउन अवधीभर काठमाडौंका लागि २ र हेटौडाका लागि ३ वटा मात्र कन्टेनर गएको बाकी सबै बन्दरगाहमा नै थन्किएर बसेको उहाँले बताउनुभयो ।

कामदार अभावमा कति रेलवेमा आएका सामग्री अनलोडिंगमा समस्या भएको उहाँले बताउनु भयो । बन्दरगाह क्षेत्रलाई सेनिटाईज गर्न महानगरपालिकालाई आग्रह गर्दा कुनै सुनुवाई नभएको दुःखेसो गर्दै हिमालय टर्मिनल प्रालिका व्यवस्थापक सदस्य अनिमेष कुमार भन्नुभयो, ‘हामी आफैँ सेनिटाईज गर्छांै, औषधी उपलब्ध गराई दिनुहोस् वा किन्ने वातावरण बनाईदिनुहोस् भन्दा कसैले वास्ता गरेको छैन, हामीसँग सामान्य ज्वरो जाँच्ने थर्मल गन मेसिनसम्म छैन, जोखिम मोलेरै काम गर्दैछौं ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?