logo
२०८१ बैशाख ११ मंगलवार



वीरगञ्ज नाका भएर ईन्धन र खाद्यान्न निर्वाधरुपमा भित्रिंदै

अर्थ |


वीरगञ्ज नाका भएर ईन्धन र खाद्यान्न निर्वाधरुपमा भित्रिंदै
वीरगञ्ज नाका भएर खाना पकाउने एलपी ग्याँस, ईन्धन, औषधी र खाद्यान्न बोकेका गाडीहरु


दीपकप्रसाद गौतम
वीरगञ्ज , चैत १५ गते । कोरोना भाइरसको महामारीबाट बच्न सरकारले लक डाउन गरेपछि जनताहरु घरभित्र रहेको बेला वीरगञ्ज नाका भएर खाना पकाउने एलपी ग्याँस, ईन्धन, औषधी र खाद्यान्न बोकेका गाडीहरु निर्वाधरुपमा भित्रिरहेका छन् ।
कोरोना भाईरसको संकमण नहोस् भनी घरभित्र बस्नका लागि सरकारले मुलुकभर लक डाउन घोषणा गरिएपछि ठप्प रहेको मुलुककै प्रमुख नाका वीरगञ्जबाट उपभोग्य वस्तु सहज पार्नको लागि यस्ता गाडीहरु सुचारू भएका हुन् ।
कामदार अभावमा लोड र अनलोडका केही समस्या भए पनि खाद्यान्नहरु भित्रिरहेका छन् भने भन्सार एजेन्ट तथा भन्सार कर्मचारीले आफूलाई सुरक्षित राख्दै मालसामानको भन्सार जाँचपास गराईरहेको वीरगञ्ज भन्सार कार्यालयका भन्सार प्रमुख ढुन्डी प्रसाद निरौलाले बताउनुभयो ।
भन्सार अधिकृत रमेश शुक्रमनीले उपलब्ध गराउनु भएको तथ्याङ्क अनुसार वीरगञ्ज नाका भएर पछिल्लो चार दिन अर्थात मंगलबारदेखि शुक्रबार सम्ममा ९ लाख ५० हजार ४ सय ९५ किलोग्राम धान , ४ लाख १६ हजार किलोग्राम चामल , १ लाख ८३ हजार ९ सय ७० किलोग्राम मकै , ८० हजार ४ सय किलोग्राम गँहु , २५ हजार २० किलोग्राम केराऊ , २५ हजार २० किलोग्राम चना , ९७ हजार ७ सय ६० किलोग्राम तोरी , ७९ हजार ४ सय १ किलोग्राम गोलभेडा , ६३ हजार ५ सय किलोग्राम प्याज र ५० हजार ३४ किलोग्राम बिभिन्न मिक्स तरकारी लगायतका खाद्यान्न भित्रिएको छ ।
त्यस्तैगरी पछिल्लो चार दिन अर्थात मंगलबार देखि शुक्रबार सम्ममा वीरगञ्ज नाका भएर ५० हजार ४ सय ९७ किलो विभिन्न अत्यावश्यक औषधी भित्रिएको तथ्यांकमा उल्लेख छ भने सोही चार दिनमा ईन्धन र खाना पकाउने एलपी ग्यासको उल्लेख्य आयात भएको छ ।
पछिल्लो चार दिन अर्थात मंगलबार देखि शुक्रबार सम्ममा वीरगञ्ज नाका भएर २१ लाख ५३ हजार ५ सय १० किलो खाना पकाउने एलपी ग्यास भित्रिएको छ भने पेट्रोल ८ सय ४४ किलो लिटर र डिजल ११ सय ६८ किलो लिटर भित्रिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?