logo
२०८१ बैशाख ८ शनिवार



रुपैडिहामा रोकिएका नौ बुलेट ग्यास भित्रियो

अर्थ |


रुपैडिहामा रोकिएका नौ बुलेट ग्यास भित्रियो


सिराज खान

नेपालगञ्ज, चैत १५ गते । भारतीय सुरक्षाकर्मीको अवरोधका कारण सीमापारी रुपैडिहामा रोकिएका नौ वटा ग्यासका बुलेटस्थानीय प्रशासनको पहलपछि बिहीबार दिउँसो नेपाल भित्रिएका छन् ।
भारतको गोन्डा डिपोबाट ग्यास भरेर बुधबार अपराह्न नै रुपैडिहा आइपुगेका ती बुलेट भारतीय सुरक्षा निकाय एसएसबीको अवरोधका कारण उतै रोकिएका थिए । बाँकेमा रहेको मनकामना ग्यास र भेरी ग्यास उद्योगका लागि आएका ती बुलेटलाई भारतीय भन्सारमा कागजपत्र दिएर नेपाल भित्र्याउनका लागि बिहीबार बिहान ग्यास उद्योगका कर्मचारी सीमापारि जान खोज्दा एसएसबीले रोकेका थिए ।
तर नेपाल आयल निगमको आग्रहमा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले पहल गरेर भारतीय सुरक्षा अधिकारीहरुसँग कुरा गरेपछि उद्योगका कर्मचारीलाई सीमापारि जान दिइएको मनकामना ग्यास उद्योगका कर्मचारी मधु भण्डारीले बताउनुभयो ।
‘हामीले आयल निगममा खबर गरेका थियाँै, निगमका प्रमुखले प्रजिअलाई आग्रह गरेपछि सीमापारि जान दिएकोले बुलेटहरु भित्रिएका छन्’– भण्डारीले भन्नुभयो । उहाँले रोकिएका बुलेटहरुमा ४ वटा मनकामना र ५ वटा भेरी ग्यास उद्योगका रहेको बताउनु भयो ।
नेपाल आयल निगम नेपालगञ्जका प्रमुख पोखरेलले नेपाल र भारत दुवै ठाउँमा लकडाउन लम्बिँदै जाने हो भने ग्यास आपूर्तिमा समस्या भएर अभाव हुनसक्ने हुँदा अब सिलिन्डरमा ७ किलो पाँच सय ग्राम ग्यास भर्न शुरु गर्न लागिएको पनि बताउनुभयो । उहाँले अझै पनि निगमसँग पेट्रोलियम पदार्थ र ग्यास पर्याप्त मौज्दातमा रहेकोले केही दिन समस्या नहुने बताउनुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?