logo
२०८१ बैशाख ७ शुक्रवार



जाने होइन रारा !

कला |


जाने होइन रारा !


सुन्दरताको प्रतीक नै स्वर्ग हो भने यसैको एक टुक्राजस्तै छ रारा । सुनको बाकसजस्तै लाग्छ रारा देख्दा । उत्कृष्ट सौन्दर्यले भरिभराउ रारा पुग्दा हाम्रो मन त्यसैत्यसै पुलकित हुन्छ । मोनालिसाको प्राकृतिक रूप जस्तै हो रारा । लियोनार्दाे दाभिञ्चीले मोनालिसाको चित्र बनाएथे भने प्रकृतिले रारा बनायो उस्तै सौन्दर्यपूर्ण । मवीवि शाहले राराकी अप्सरा भनेर कविता लेखेथे । प्रकृतिले दिएको यस्तो अनुपम छटालाई पनि पर्यटकले भरिभराउ बनाउन सकिएको छैन । विदेशी भूमिमा यस्तो मनोरम तालसहितको क्षेत्र हुँदो हो त कसरी पर्यटक तान्थे होलान् !

रारा कर्णालीको सुनखानी हो भन्दा फरक नपर्ला तर लकरमा राखिएको सुनजस्तै भएको छ । त्यसलाई निकालेर शृङ्गारिक रूप दिन बा“की छ । शब्दमा राराको जति वर्णन गरे पनि अधूरै हुन्छ । रारा पुग्नेले यसको स्वर्गीय आनन्द लिएका छन् । सुनेको राराभन्दा देखेको रारामा बेग्लै मज्जा छ । नेपाली भएर जन्मेपछि जीवनमा एकपटक पुग्नैपर्ने थलो हो रारा । मुगु जिल्लामा पर्ने यो तालले सबैलाई लठ्ठ पार्छ । रारालाई शब्दले जति सिँगारे पनि घुम्न नगएसम्म खल्लो भइरहन्छ । भिजिट कर्णाली टुर्स एण्ड ट्राभलका राजु कार्कीले रारा जाने निम्तो गर्दै भन्नुभयो– रारा स्वदेशी तथा विदेशी पर्यटकलाई स्वागत गर्न लालायित छ । रारा पृथ्वीमा भएका विभिन्न भू–भागमध्ये सबैभन्दा सुन्दर क्षेत्र हो । छिनछिनमा रूप बदलिरहने रारा विदेशीभन्दा पनि आन्तरिक पर्यटकको बढी आकर्षणको केन्द्र भएको छ । बिहान कालो, दिउँसो नीलो र बेलुकी सप्तरङ्गी रूप देखाउँछ रारातालले । राराको सप्तरङ्गी रूप हेर्नलाई समयको व्यवस्थापन गर्नु आवश्यक छ । अनि रारा घुम्नलाई लाग्ने खर्चको जोहो पनि । रारा भर्जिन पदमार्ग हो । वर्षमा मुश्किलले १० हजार आन्तरिक पर्यटक र पाँच सयदेखि छ सय विदेशी पर्यटक रारा घुम्न पुग्छन् । राराको सौन्दर्य देख्दा लाखौँ पर्यटक पुग्नुपर्ने हो जस्तो लाग्छ । कर्णालीको आर्थिक कायापलट गर्न रारा प्याकेजको बजारीकरण गर्न सकिएको छैन ।

राराक्षेत्र तालले मात्रै प्रसिद्ध छैन । स्थानीयको जीवनशैली, वन्यजन्तु, स्थानीय परिकार र फरकखालको भौगोलिक बनोटका कारण रारा पुग्ने जो कोहीलाई पनि मोहित पार्छ । राराले प्रचुर पर्यटकीय सम्भावना बोकेर उभिएको छ र खाँचो बजारीकरण हो । कर्णालीको गरिबीलाई भजाएर खान पल्केकाहरूलाई पर्यटनको खानी हो भनेर बेच्न सक्दा कर्णालीको उन्नति हुने पक्का छ ।

सुनमाथि सुतेर अरूसँग हात फैलाउनुभन्दा प्राकृतिक सुन्दरताको वर्णन गरेर पर्यटक भिœयाउँदा मुहार फनर्र समय लाग्दैन । स्थानीयले पर्यटनको स्वाद बुझेकै छैन । स्थानीयवासी यसको स्वादमा डुबेपछि रारामा पर्यटकको ओइरो लाग्न थाल्छ । रारा राष्ट्रिय निकुञ्जभित्र पाइने जैविक विविधा र मुगुको अग्लो ठाउँ छायॉनाथबाट देखिने मनै लोभ्याउने दृश्यलाई शब्दमा वर्णन गर्दा अपूरो हुन्छ । छायॉनाथबाट सैपाल हिमाल र आठ जिल्ला हेर्न पाइन्छ । तालको गतिलो फोटो खिच्ने हो भने छायॉनाथ रोज्नुपर्छ, राजु कार्कीले सुझाव दिँदै भन्नुभयो । तीन हजार मिटर उचाइमा रहेको रारातालको गहिराइ एक सय ६७ मिटर छ भने लम्बाइ पाँच किलोमिटर छ । रारातालको एक फन्को लगाउन तीन घण्टा समय दिनुपर्छ । १६ किलोमिटर ताल वारपारको लम्बाइ छ । फन्को मार्दै र राराका असला माछा हेर्दै हिँड्नुको मज्जा बेग्लै हुन्छ । ‘तीन हजार मिटरको उचाइमा पनि असला माछा हुनु राराको थप आकर्षण हो,’ राराको किनारमा रहेको भिलेज हेरिटेज एण्ड रिसोर्टका सञ्चालक राजु कार्की परख गर्नुहुन्छ । रारातालको वरपर साइक्लिङ, हाइकिङ, घोडा चढ्न र तालमा डुङ्गा सयर गर्न सकिन्छ । रारा साहसिक यात्रा गर्न चाहनेहरूका लागि मात्र नभएर धामिर्क पर्यटकका लागि पनि उत्तिकै रोमाञ्चकारी गन्तव्य हो । ताल वरिपरिका महादेवका मन्दिरले पनि धार्मिक पर्यटनको महŒवपूर्ण झल्को दिन्छ । कसरी जाने रारा भन्ने अलमल छ ? आउनुस् रारा जाने योजना बुन्दै हो भने पुग्ने माध्यमतर्फ लागौँ । रारा यात्रामा हवाईमार्ग र स्थलमार्गबाट पनि जान सकिन्छ । समय थोरै छ र जाने इच्छा छ भने हवाईमार्ग छान्नुहोस् ।

काठमाडौँबाट नेपालगञ्जसम्म र नेपालगञ्जबाट मुगुको ताल्चा विमानस्थलसम्म हवाईजहाजले जोडेको छ । एक साताको प्याकेजमा जान सकिन्छ । सफा मौसम भयो भने रारा घुमेर एक सातामा हलुका भएर जहाजबाटै फर्कन सकिन्छ । राजधानीबाट सुर्खेतसम्म बस र त्यसपछि कालीकोटको सदरमुकाम मान्मसम्म अर्को बसमा गएर मुगुको गमगढी पुगिन्छ । यसको लागि समय अलि बढी खर्चिनुपर्छ । समय छ भने तीन हजार वर्षअघि खस भाषाको उत्पत्तिको थातथलो जुम्लाको सिँजा भ्याली घुमेर फर्किंदा सुनमा सुगन्ध भएझैँ हुन्छ । रारा जानलाई विगतको जस्तो कठिन छैन, जहाज र बस दुवै मार्फत पुग्न सकिने र एक सातादेखि दश दिनका टुर प्याकेज उपलब्ध छन् । सुर्खेतदेखि कालीकोटसम्म ३५० किलोमिटर सडक छिट्टै कालोपत्रे हुँदैछ । 

जहाजबाट जाने भए ५० हजार रुपियाँको प्याकेज छ भने बसबाट जाने भए ३० हजारदेखि ३५ हजारसम्मको प्याकेजमा जान सकिन्छ । रारामा सुविधाजनक होटलहरू थोरै छन् । जानुभन्दा अघि नै होटल बुक गरेर जाँदा उत्तम हुन्छ । राष्ट्रिय निकुञ्जबाहिर बन्दै गरेका होटलहरूले रारा घुम्न आउने पर्यटकका लागि सुविधा हुनेछ । राजधानीको तनावलाई हटाउने हो भने रारा पदयात्रा रोज्नुस् । रारामा मोबाइल डाटाबाट इन्टरनेट चल्छ । राराताल घुमेको फोटो डाटाबाटै अपलोड गरेर छिनभरमै साथीभाइलाई लोभ्याउन सकिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?