logo
२०७६ चैत्र २० बिहीवार
दसगजामा अलपत्र १८१ नेपालीकाे उद्धार गरी क्वारेन्टाइनमा राखियो
चैत्र २०, २०७६ बिहीबार

नेपाल–भारत सिमानाको जमुनाह नाकाको दसगजा क्षेत्रमा तीन दिनदेखि अलपत्र परेका १ सय ८१ जना नेपालीको बिहीबार उद्धार गरेर नेपालकै क्वारेन्टाइनमा राखिएको छ । दशगजासँगै जोडिएको नेपालतर्फको निर्माणाधिन एकिकृत भन्सार चेकपोष्टको खाली जग्गामा नेपाली सेनाले ४५ वटा टेन्टसहितको अस्थायी क्वारेन्टाइन बनाएपछि सोही ठाउँमा ती नेपालीहरुलाई राखिएको हो । कोरोना संक्रमणलाई रोक्न नेपाल र भारतमा लक डाउन भएको र नाका समेत ठप्प भएको अवस्थामा सोमबार ती नेपालीहरु जमुनाहसम्म आएका थिए । भारतमा रहेका नेपालीलाई भारतले र नेपालमा रहेका भारतीयलाई नेपालले व्यवस्थापन गर्नुपर्ने सहमति बनेको भए पनि अलपत्र नेपालीहरुले भारतीय क्वारेन्टाइनमा नबस्ने अडान लिँदै दशगजामा धर्ना दिएका थिए ।

सुर्खेतबाटै कोरोना परीक्षण, पहिलो परीक्षणमा भाइरस फेला परेन
चैत्र २०, २०७६ बिहीबार

कर्णाली प्रदेशका लागि कोरोना भाइरसको परीक्षण सुर्खेतबाट शुरु भएको छ । चीन सरकारले पठाएको मेसिन बुधबार जडान गरेपछि प्रदेश स्वास्थ्य निर्देशनालयको प्रयोगशालाबाट बिहीबारदेखि परीक्षण शुरु भएको हो । अब कर्णालीबाट कोरोना भाइरस परीक्षण गर्न काठमाडौं पठाउन नपर्ने भएको छ । पहिलो दिन बिहीबार तीन वटा परीक्षण भएकोमा पहिलो परीक्षण नेगेटिभ आएको छ । अन्य दुई वटा परीक्षणका क्रममा रहेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रीता भण्डारी जोशीले पहिलो दिन तीन वटा स्वाब संकलन भएको र पहिलो परीक्षण नेगेटिभ आएको जानकारी दिनुभयो ।