logo
२०८१ बैशाख ४ मंगलवार



आजबाट तेस्रो चरणको चार्टर्ड उडान शुरु, एक सातासम्म चल्ने

विदेश |
मुख्य समाचार |


आजबाट तेस्रो चरणको चार्टर्ड उडान शुरु, एक सातासम्म चल्ने


काठमाडौँ, असार ३१ गते । कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धारका लागि आजबाट तेस्रो चरणको चार्टर्ड उडान हुँदैछ । नेपालका दुई नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न मुलुकका एयरलाइन्सले नेपालीको उद्धारका लागि एक साता चार्टर्ड उडान गर्न लागेका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी जुलाई १५ देखि २२ सम्मको चार्टर्ड उडान तालिका सार्वजनिक गरिसकेको छ । सोहीअनुरुप नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले चार्टर्ड उडान तालिका बनाएर आजदेखि उडान शुरु गरेका छन् । पछिल्लो चरणमा ४२ उडान हुँदैछन् । यसमा नेपाल एयरलाइन्सको मात्रै २४ उडान हुनेछ भने हिमालयको १५ उडान तालिका रहेको छ ।

उडान तालिकाअनुसार आज नेपाल एयरलाइन्सले दुबईमा दुई उडान गर्नेछ । हिमालय एयरलाइन्सले आबुधाबीमा दुई उडान गर्ने जनाएको छ । उद्धार उडानका लागि नेपाली एयरलाइन्स सम्बन्धित गन्तव्यमा उडिसकेको विमानस्थलले जनाएको छ । यो अवधिमा एयर अरेबिया, फ्लाई दुबईले दैनिक एक उडान गर्नेछन् भने जजिरा एयरले दैनिक दुई उडान गरी नेपाली स्वदेश फर्काउने मन्त्रालयले जनाएको छ ।

यसैबची कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धार गरी नेपाल ल्याउन सरकारले दिएको अनुमतिअनुरूप दुवै एयरलाइन्सले उडान तालिका बनाएर चार्टर्ड उडान गरिरहेका हुन् । यी एयरलाइन्सले चीनका विभिन्न गन्तव्य, बङ्गलादेश, मलेशियाको क्वालालम्पुर, साउदी अरेबियाको रियाद, दमाम, युएईको अबुधाबी, कतारको दोहा, बहराइन, कुवेत, जापानलगायत मुलुकबाट नेपाली स्वदेश फर्काउन चार्टर्ड उडान गरिरहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले दैनिक १६ वटासम्म चार्टर्ड उडान हुँदै आएका छन् ।

यसैबीच विदेशबाट नेपालीको उद्धार गरी स्वदेश फर्काउने क्रममा हालसम्म २६ हजार ३९६ जनाको उद्धार भएको छ । साथै विदेशमा निधन भएका १५७ जना नेपालीको शव नेपाल ल्याइएको छ । त्यस्तैगरि विदेशमा कोरोना भाईरसको सङ्क्रमणमा परेका नेपाली नागरिकहरूमध्ये ९२ प्रतिशत सङ्क्रमण मुक्त भएको गैरआवासीय नेपाली सङ्घले जनाएको छ ।

नेपाल सरकार, कूटनीतिक निकाय र गैरआवासीय नेपाली सङ्घको पहलमा विभिन्न २३ मुलुकमा अलपत्र परेका, भिसा अवधि सकिएका, आफन्त भेटघाटमा गई उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका नेपालीको उद्धार गरिएको हो ।

विभिन्न एयरलाइन्सका १४९ उडान फ्लाइटमार्फत उनीहरूको उद्दार गरिएको हो । गत जेठको मध्यदेखि सुरु उद्धार उडानमार्फत हालसम्म संयुक्त अरब एमिरेट्स युएईबाट ५ हजार ५ सय २७ सय जनाको उद्धार भएको छ । कुवेतमा आममाफी पाएका र अन्य अलपत्र परेका सहित पाँच हजार दुई सय ४३ जनाको उद्धार गरिएको छ । यस्तै साउदी अरबबाट चार हजार ३० जना, कतारबाट दुइ हजार ८ सय ८४ जनाको उद्धार गरिएको हो ।

यस्तै अफगानिस्तानबाट १८, अष्ट्रेलियाबाट ४८३, म्यानमारबाट २६, जापानबाट ४९२, थाइल्याण्डबाट ३२६, दक्षिण कोरियाबाट ४७६, बङ्गलादेशबाट ८४१, माल्दिभ्सबाट ७०९, श्रीलङ्काबाट पाँच, सिङ्गापुरबाट १४६, हङकङबाट ८९, बहराइनबाट ५६७, अमेरिकाबाट ४२३, बेलायतबाट २२९, इजरायलबाट १२७ र चीनबाट १०५ जनालाई स्वदेश फर्काइएको हो । शनिबार मात्रै विभिन्न मुलुकबाट १ हजार ३८१ जना स्वदेश फर्किएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?